अछामको ढकारीको किशोरी प्रकरण बिवाहको प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको आशंका

धनगढी-अछामको ढकारी गाउँपालिका–८ पल्सातामा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको खुलासा भएको छ ।

शनिबार साँझ ढकारी गाउँपालिका–८ की १५ वर्षीया सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने जंगलमा मृत फेला परेका थिए । प्रहरीले अहिलेसम्म घटनामा संलग्न भएको आशंकामा हालसम्म झन्डै आधा दर्जनलाई नियन्त्रणमा लिएको छ । अछाम प्रहरी स्रोतका अनुसार १७ वर्षीय एक किशोरले मृतकमध्ये एक किशोरीलाई बिहेका लागि दबाब दिएका थिए । तर, किशोरीले अस्वीकार गरेपछि उनलाई भीरबाट खसालेर हत्या गरिएको हुनसक्ने बताइएको छ । घटनालाई अर्की किशोरीले देखेपछि उनलाई पनि सोही प्रकारले हत्या गरिएको हुनसक्ने स्रोतको बुझाई छ।

यस प्रकरणमा पक्राउ परेकामध्ये किशोरीहरूको भिनाजु नाता पर्ने व्यक्ति पनि छन् । दुई जनालाई पहिले नै पक्राउ गरिएकोमा सोमबार थप तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

किशोरीहरूको शव भेरी अस्पताल, नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार, किशोरीहरूको टाउकोमा गम्भीर चोट लागेको र एक किशोरीको मेरुदण्ड भाँचिएको पाइएको छ । बलात्कार भएको आशंका भएकाले स्वाब परीक्षणका लागि नमुना विधि विज्ञान प्रयोगशाला, काठमाडौं पठाइएको छ ।

दुवै किशोरी शुक्रबार बाख्रा चराउन जंगल गएका थिए । शनिबार दिउँसोसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दा जंगलमा करिब १६ मिटरको दूरीमा उनीहरूको शव फेला परेको थियो।

प्रहरीले घटनाको गहिरो अनुसन्धान जारी राखेको जनाएको छ । साभार- महेन्द्रनगर पोष्ट

ad_wide