अछाममा जग्गा एकीकरण आयोजना सञ्चालन गरिने

धनगढी– सरकारले सुदूरपश्चिमको अछाममा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने भएको छ ।

कात्तिक २५ गते आइतवार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो। सोमबार सो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अछामको साफेबगर वडा नम्बर ६ मा पर्ने साविकको माष्टमाण्डौं गाविस वडा १ मा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न स्वीकृत गरिएको बताए ।

यस्तै, स्वास्थ्य बिमा बोर्डको अध्यक्ष डाक्टर गुणराज लोहनीले विरामीका कारण पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको जनाइएको छ ।

त्यस्तै मन्त्रिपरिषद विधेयक समितिमा यस भन्दा अघिको मन्त्रिपरिषद बैठकले पठाएका दुई वटा नियमावलीहरु भन्सार महशुल नियमावली, २०८१ विधेयक समितिबाट छलफल भएर मन्त्रिपरिषदमा फेरि पेश भएको हुनाले त्यसलाई स्वीकृत गर्ने निर्णय पनि भएको छ।

राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ लाई पनि सोही प्रक्रिया बमोजिम विधेयक समितिले आफ्नो सुझावसहित मन्त्रिपरिषद्ले पठाएको हुनाले सो नियमावली पनि स्वीकृत गरिएको छ।

त्यसैगरी सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषमा ७५ हजार अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM