बुधबार, जेष्ठ १, २०८२

अत्तरिया बिद्युत कर्मचारीलाई खुकुरी आक्रमण प्रकरण: तीन जना पुर्पक्षका लागि कारागार चलान

कैलालीको अत्तरिया स्थित नो लाइट विद्युत् सेवामा कार्यरत कर्मचारीमाथि भएको खुकुरी आक्रमण प्रकरणमा पक्राउ परेका तीन जना आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

चिसापानीका २० वर्षीय प्रविन शाही (मार्टेन), धनगढी उपमहानगरपालिका–१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका–१ विजयनगरका २५ वर्षीय अर्जुन भट्टलाई बुधबार कैलाली जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो।

गत फागुन २२ गते नो लाइट विद्युत् सेवामा कार्यरत सुन्दरलाल चौधरीमाथि मोटरसाइकलमा आएका ६ जनाको समूहद्वारा कार्यालय परिसरमै दिनदहाडै खुकुरी प्रहार भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा फागुन २६ गते गोदावरी–५ गेटबाट प्रविन शाही पक्राउ परेका थिए। त्यसपछि फागुन २७ गते सम्राट सिंहलाई पक्राउ गरिएको थियो भने घटना घटाउन सहयोग गरेको आरोपमा अर्जुन भट्टलाई चैत्र ७ गते नियन्त्रणमा लिइएको थियो।

यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

ad_wide