धनगढी - कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च अदालतको आदेश लत्याउँदै एक व्यापारिक घरमा डोजर चलाएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित सिद्ध विनायक किराना स्टोर रहेको घरमा डोजर चलाएको हो ।
जेठ २८ गते उच्च अदालतले उक्त भवनमा कुनै पनि क्षति नपुर्याउन भनी अन्तरिम आदेश दिएपनि सोको पालना नगरि नगरपालिकाले डोजर चलाएको पीडितको गुनासो रहेको छ ।
न्यायधिश दिनेशप्रसाद यादवको इजलासले निवेदनको किनारा नहुन्जेलसम्म किराना स्टोरलाई हाललाई नभत्काउनु, नतोड्नु तथा कुनै पनि क्षति नपुर्याउनु भनी अन्तरिम आदेश दिएको थियो ।
२०७० सालदेखि व्यापार गर्दै आएकी सुधा झाले भनिन् –‘तत्कालिन नगर विकास समितिसंग सम्झौता गरि २० वर्षका लागि लिजमा लिएर व्यापार गर्दै आएको थिए । अचानक नगरपालिकाले कुनै जानकारी नदिई पसलमा डोजर चलाएको छ ।’
उनले नगर विकाससंग २०७० साल वैशाख १ गतेदेखि जग्गा भाडामा लिन करार सम्झौताबाट कित्ता नम्बर ५३१० को क्षेत्रफल ०–०–५ जग्गा २० वर्षका लागि लिजमा लिएको बताइन् । सो जग्गामा २०८० माघ २ गते वडाको सिफारिसमा विद्युत मिटर र खानेपानी जडान गरेकी थिइन् । उनले भनिन –‘कानुनभन्दा ठुलो यहाँ कोही हुन्न भन्ने छ । तर, उच्च अदालतको आदेशको पालना नगरि नगरपालिकाले डोजर चलाएको छ ।’ उनको जिविकोपार्जन पनि सोही पसल रहेको छ । तर, नगरपालिकाले डोजर चलाएपछि कहाँ व्यवसाय गर्ने भन्ने समस्या रहेको गुनासो गरिन् । उनले भनिन –‘एकाएक डोजर चलाउँदा अब यो गर्मीमा कहाँ गएर बस्ने होला ?’