सनराईज टिभि न्युज
काठमाडौँ – ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’ को पहुँच नभएका स्थानमा पनि सञ्चार गर्न सहयोग पुग्छ । यसको प्रयोगका लागि नेपालमा सरकारसँग अनुमति लिनुपर्छ तर पछिल्लो समय अनुमति नलिई वाकिटकीको प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य बढेपछि सूचना तथा प्रसारण विभागले नियमनका लागि अग्रसरता देखाएको छ ।
अनुमति नलिई वाकिटकीलगायत रेडियो उपकरणहरू आयात, बिक्री–वितरण भएको पाइएपछि विभागले हालै तत्कालका लागि प्रयोग बन्द गरी लाइसेन्स लिन आग्रह गरेको छ । वाकिटकीको प्रयोग गर्दा अनुमति लिने प्रक्रिया झन्झटिलो भएकाले अधिकांशले अनुमति नलिई प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् ।
सूचना विभागअन्तर्गत प्रसारण शाखाका निर्देशक डा सुवोध नेपाल पनि नेपालमा वाकिटकीको प्रयोगका लागि अनुमति प्रक्रिया सहज नभएको स्वीकार्छन् । ‘अनुमतिबिना वाकिटकी प्रयोग गर्न पाइँदैन । यसका लागि केही प्रक्रिया पूरा गरेपछि मात्रै अनुमति पाउने व्यवस्था छ तर प्रक्रिया भने लामो छ । जे भए पनि अनुमति त लिनुपर्यो नि’, उनले भने ।
निर्देशक डा.नेपालका अनुसार वाकिटकीको प्रयोग सुरक्षासँग पनि सम्बन्धित भएकाले जिल्ला प्रशासन कार्यालय वा गृहमन्त्रालयलगायतको सिफारिस आवश्यक पर्ने हुँदा अनुमति प्रक्रिया लामो भएको हो ।
विसं २०७९ असोजमा वाकिटकी प्रयोगका लागि सूचना तथा प्रसारण विभागसँग अनुमति माग गरेको एक स्थानीय तहले केही समयअघि मात्रै उपकरण खरिद गर्न अनुमति पायो । स्थानीय तहको काम कारबाहीलाई चुस्त बनाउन यसको प्रयोग माग गरिए पनि झन्डै साढे दुई वर्षपछि यही फागुन १५ गते मात्रै अनुमति प्राप्त भएको हो । अब उपकरण खरिद गरेपछि विभागले प्राविधिक परीक्षण गरेपछि मात्रै त्यसको प्रयोग गर्न पाउने विभागको पत्रमा भनिएको छ ।
वाकिटकीको प्रयोग कानुनी रूपमा सहज नभएको लामो समयदेखि वाकिटकीको व्यवसाय गरिरहेका डिकेड इन्टरनेसनलका सञ्चालक विवि ढकाल बताउँछन् । उनका अनुसार वाकिटकी प्रयोगका लागि कानुन भए पनि प्रक्रिया झन्झटिलो छ । ‘विकट ठाउँहरूमा यो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम हो तर प्रयोगमा सहजता छैन’, ढकालले भने, ‘खासगरी पर्वतारोहण र जलविद्युत् आयोजनाका लागि यो प्रभावकारी मानिएको छ ।’
अवैध रूपमा प्रयोग गर्नेको बिगबिगी
गत वर्ष असोजमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाको मोहनपुरबाट करिब रु आठ लाख बराबरको वाकिटकी प्रहरीले बरामद गरेको थियो । तत्कालीन समयमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १०० वटा पोर्टेबल ह्यान्ड सेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको थियो । त्यति मात्रै होइन, अनुमतिबिना ‘अनलाइन’मार्फत बिक्री गर्नेहरूको सङ्ख्या पनि उल्लेख्य छ ।
डिकेड इन्टरनेसनलका सञ्चालक ढकाल अनुमति नलिई वाकिटकी प्रयोग गर्ने, अनलाइनमार्फत बिक्रीका लागि विज्ञापन गर्नेहरूका कारण आफूहरूलाई समस्या भएको बताउँछन् । ‘प्रहरीले अवैध वाकिटकीलाई नियन्त्रणमा लिएका समाचार हामीले सुनिरहेका हुन्छौँ । अवैध रूपमा प्रयोग बढ्दा कानुनी रूपमा अनुमति लिएर प्रयोग गर्ने हामी जस्ताका लागि समस्या भएको छ’, उनले भने । हाल विभिन्न कम्पनीहरूले अनलाइनमार्फत पनि विज्ञापन गरी वाकिटकी बिक्री गरिरहेको पाइन्छ ।