धनगढी–अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ । आज बिहान बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडित तत्कालका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्र्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए । उनले भने,‘मंगलबार बेलुकी जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ५० लाख रुपैयाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ ।’ सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए ।
यसका साथै प्रारम्भीक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने उनले बताए । यसका साथै आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि संघीय सरकारसम्मलाई पुननिर्माणका सन्दर्भमा सहयोगको अपिल समेत मुख्यमन्त्री शाहले गरेका छन् । प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था वुझ्नका लागि सामाजिक विकास मन्त्री र आन्तरिक मामिला मन्त्रीलाई जयगढ पठाउने निर्णय समेत गरको छ ।