धनगढी - आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व (त्यार) मनाइँदै छ । “बिसुँ खानु मरुँलो भनी, ओल्के खानु बाँचुलो भनी” भन्ने कथनका साथ ओल्के पर्व हर्षोल्लासले मनाइन्छ ।
वर्षा याममा दैवी–प्रकोपबाट बाँचिएको खुसीयालीमा हरियो सागपात दिएर ओल्केको दिन डोटेली समुदायले सद्भाव बाँड्ने चलन रहेको छ । डोटेली भाषामा ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ ।
आज बिहानै नुहाई धुवाई गरी विभिन्न परिकार बनाएर सागपात, फलफूल, अन्न, दूध, दही, घिउ, गुड र पकवान आदि मान्यजन र आफन्तकहाँ लगेर भेटघाट गर्न जाने चलन छ । विभिन्न मन्दिरमा नयाँ अन्नबाली ओल्केका रूपमा देवतालाई समेत चढाउने गरिन्छ ।
ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो भात, गतानी डुब्का, भक्के रोटो खाने, सल्ला तथा पिपलका हाँगामा पीङ हालेर खेल्ने, नाचगान गर्ने प्रचलन पनि रहेको छ । समग्रमा राक्षसी प्रवृत्तिको विनाश गरी सत्यको पक्ष स्वीकार गर्ने चलनको रूपमा सुदूरपश्चिमका पहाडी समुदायले ओल्के त्यार मनाउँदै आएका छन् ।
ओल्केको दिन बूढी (पूतनाको प्रतीक) बाँड्ने चलन पनि रहेको छ ।