धनगढी - कैलालीको धनगढीमा रहेको मानव सेवा आश्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश सचिवका रुपमा कार्यरत सुशील वैद्यले आफ्नो स्वर्गीय आमाको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रममा बिहानको भोजन दान गरेका छन्।
विगत लामो समयदेखि सडकमा आश्रित मानवहरूलाई सेवा दिँदै आइरहेको मानव सेवा आश्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सचिव वैद्यले आफूले सकेको सानो सहयोग गरेको बताएका छन्। आफूले सकेजतिको सहयोग मानव सेवा आश्रमलाई गरेको र आफ्नो फजुल खर्चबाट केही खर्च बचाएर मानव सेवा आश्रमलाई सहयोग गरिदिनु हुन समेत सचिव वैद्यले अनुरोध गरेका छन् । सबैले सहयोग गर्न सकेमा सडकमा जीवन बिताउन बाध्य आमाबुवाहरूले पनि उचित गाँसबास कवासको सेवा सुविधा पाउने सचिव वैद्यको भनाई रहेको छ।
मानव सेवा आश्रमले विगत १२ वर्षदेखि सडकमा जीवन बिताइरहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार र पुनर्मिलन गराउँदै आएको छ। हाल मानव सेवा आश्रम धनगढी ५ तारानगर र धनगढी १५ उर्मी दुई ठाउँबाट ६६ जना सहयोगापेक्षी सडक आश्रित बेवारिसे व्यक्तिहरूको सेवा दिँदै आइरहेको छ कुनै पनि विदेशी सहयोग बिना नै आश्रम सञ्चालनमा भइरहेको कुरा र आफूले सक्दो सहयोग गरिदिनुहुन मानव सेवा आश्रमका कैलाली जिल्ला संयोजक लोकेन्द्र शाहले अनुरोध गरेका छन्।