धनगढी– उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज बिहान धनगढीसहित देशभरिका जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।
व्रतालुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए । भजनकिर्तनसहित रातभर जाग्राम बसेका व्रतालुले आज बिहानै पूजासामग्री र प्रसादसहित उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।
सूर्यको उपासनासहित विधिपूर्वक छठ पर्व मनाउँदा पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यही विश्वासका साथ सूर्यलाई अर्घ अर्पूण गर्ने श्रद्धालुको पोखरी, नदी, तलाउ लगायतका जलासयमा भीड लागेको थियो ।
छठ पूजाका सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिलापहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने गरेका थिए ।
धनगढीको मोहनाघाँटमा छठ पर्व समारोह समितिको आयोजनामा छठ पूजा गरेका छन् । सो स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको थियो ।