शेरबहादुर ऐर/धनगढी- धनगढी उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको दुई वटा पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार गर्यो । तर, प्रतिवेदन अनुसार निर्माण कार्य एक पार्कमात्र अघि बढाएको छ ।
धनगढीको मुख्य बजारमा रहेको दशरथ भिम पार्कमा उपमहानगरपालिकाले व्यवसायीक भवन बनाउने तयारी गरेको छ । नगरले अहिले व्यवसायीक भवन निर्माण गर्ने भनेपछि विवादित बन्दै गएको छ ।
उपमहानगरपालिकाले स्थानीयको सुझावलाई वेवास्ता गर्दै असोज १ गते उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा सो पार्कमा निर्माण कार्यको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहबाट सिलान्यास गराइसकेको छ । उपमहानगरपालिकाले डिपिआर तयार भइसकेपछि सुझाव माग्दा कुनै प्रतिक्रिया नपाएको र अहिले निर्माण कार्य अघि बढाउँदा विवाद सृजना गरिएको प्रतिक्रिया दिइरहेको छ ।
उपमहानगरपालिकाले दशरथ भिम पार्कमा मात्र नभई धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको कनरी पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो । तर, सो पार्कमा कुनै कार्य अघि बढाएको छैन् । २०८० साल वैशाख ६ गते डिपिआरका लागि उपमहानगरपालिकाले सूचना जारी गरेको थियो ।
पार्क मुख्य व्यवसायीक केन्द्रमा पर्ने भएको र व्यवसायीहरुले सहज रुपमा पसल राख्न सक्ने भएकाले उपमहानगरपालिकाले सो पार्कमा व्यवसायीक भवन निर्माण कार्य अघि बढाएको छ ।
‘कनरी पार्क बजार क्षेत्रबाट टाढा छ । त्यहाँ व्यवसायीक भवन बन्दा लगानीकर्ताहरु लगानी गर्न आनाकानी गर्छन्’ एक व्यवसायीले भने –‘मुख्य बजारमा मानिसको चहलपहल पनि हुन्छ । जुन पनि व्यवसाय गर्न सकिन्छ । उपमहानगरपालिकाले बनाउने भवनमा पसल भाडामा लिन व्यवसायीलाई डर हुँँदैनन् ।’
यहि साउन १६ गते बसेको कार्यपालिकाको बैठकले निर्माणनै नभएको भवनलाई अहिलेनै भाडामा लगाउन शूल्क निर्धारण गरिसकेको छ तर, कनरी पार्कबारे भने सो बैठकमा कुनै छलफल भएन् ।
कार्यपालिकाको बैठकको निर्णय नम्बर ६ मा भनिएको छ –‘उपमहानगरपालिकाको स्वामित्त्वमा रहेको दशरथ भिम उद्यान संचालन गर्नका लागि सिफारिस भएको देहाय बमोजिमको सेवा शूल्कका दरहरु आगामी नगरसभाबाट अनुमोदन हुने गरि स्वीकृत गर्ने निर्णय गरियो ।’
सो निर्णय अनुसार व्यापारिक भवनमा पूर्व–दक्षिण क्षेत्रमा बन्ने भवनमा प्रति पसल २० हजार पाँच सय मासिक भाडा, प्लाजा रेष्टुरेण्ट एक खाली स्थान प्रति वर्गमिटर प्रति महिना एक हजार, प्रवेश शूलक ५०, पार्कभित्र रेष्टुरेण्ट प्रति वर्ग प्रति महिना पाँच सय, हल तथा प्रदर्शनी प्रति सो तथा प्रति गतिविधि प्रति महिना दुई लाख ५० हजार, फेरिस ह्विल प्रति व्यक्ति एक सय, वम्पर कार प्रति व्यक्ति दुई सय ५०, स्विमिङ्ग पुल प्रति व्यक्ति तीन सय, सार्वजनिक शौचालय प्रति व्यक्ति पाँच र १० रुपैया लाग्ने छ ।
दशरथ भिम पार्कको पुरै संरचना निर्माणका लागि उपमहानगरले ३६ करोडको डिपिआर तयार पारेको छ । अहिले उद्यान निर्माण कम्पनीले त्यसभीत्र निर्माण सामाग्री राखि सकेको छ ।
धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले धनगढी–१५ मा रहेको कनरी पार्कलाई निजी क्षेत्रको जिम्मा दिने तयारी गरेको बताए । उनले भने –‘कनरी पार्कको डिपिआर पहिले तयार भइसकेको छ । अब नीजि क्षेत्रको साझेदारीमा केही वर्षसम्म सञ्चालन गराउने गरि तयारी भइरहेको छ । सो सम्झौता अवधि सकिएपछि उपमहानगरपालिकाले सो पार्क आफनो स्वामित्वमा लग्ने छ ।’
उनले अहिले उपमहानगरपालिकाले आफनो क्षेत्रभित्र रहेका खाली जग्गाहरु पहिचान गर्दै सो क्षेत्रमा हरियाली निर्माण गर्ने कार्य अघि बढाइरहेको बताए । अहिले पार्क र तालतलैयामा हरियाली प्रवद्र्धन गर्ने कार्य भइरहेको उनको भनाई छ ।