काठमाडौँ - एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी छन् ।
शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनले पिपल्स च्वाइस अवार्ड जितेकी हुन्। पिपल्स च्वाइस विधाको विजेता उनले पल्सर एनएस ४०० मोटरसाइकल पुरस्कार पाएकी छन ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा पिपल्स च्वाइस अवार्डका लागि उनी मनोनयनमा परेकी थिइन् । उनले पिपल्स च्वाइस मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् । पिपल्स च्वाइस विधाका लागि फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परेका थिए ।
यो विधाको विजेताको घोषणा ई–सेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर्स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधार गरिएको हो। उनले कुल खसेको मतको ५६ प्रतिशत प्राप्त गर्दै विजेता बनेकी हुन् ।