एमालेको नवौँ जिल्ला अधिवेशन सहमति गर्ने नाममा लम्बिँदै

धनगढी, ८ फागुन / कैलालीको सुखडमा जारी एमालेको नवौँ जिल्ला अधिवेशन लम्बिँदै गएको छ । जिल्लाध्यक्षमा सहमति गर्ने नाममा महाधिवेशन लम्बिँदै गएको हो । उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहानसम्म पनि सहमति नजुटे निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएका थिए । तर कैलाली अधिवेशनमा पार्टी अध्यक्षले दिएको निर्देशनको पनि पालना भएको छैन । ‘पहिलो दिन सहमतिको प्रयास गर्नु, सहमति नभए दोस्रो दिन ९७ गते० बिहान मतदानका लागि बाकस थाप्नु । प्रतिनिधिलाई धेरै समय दुविधामा राख्नु हुँदैन । अब्बल नेतृत्व चयन गर्न प्रतिनिधि पनि जिम्मेवार बन्नुपर्छ,’ ओलीले भनेका थिए ।
एमाले पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतिको अधिकतम प्रयास भइरहेकाले समय लागेको प्रतिक्रिया दिए । ‘हामीले ढिला गरेका छैनौँ । सहमतिबाट नेतृत्व चयन गर्दा तीन दिन र निर्वाचन प्रक्रियामा जाँदा ५ दिनसम्म लाग्न सक्छ,’ उनले भने, ‘उम्मेदवारहरूबीच छलफल गर्दा एकले अर्कालाई समर्थन गर्न सक्ने अवस्था नदेखिएपछि आजबाट निर्वाचन प्रक्रिया अघि बढाउँछौं,’ ठगुन्नाले भने । केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारीलगायत केन्द्रीय नेताहरूले अधिवेशन स्थल छोडेका छैनन् । उम्मेदवारहरूले पनि आ–आफ्नो दाबी नछोडेपछि नेतृत्व चयनमा झन् रस्साकस्सी बढेको छ । केन्द्रीय नेता र उम्मेदवारको रस्साकस्सीले गरम बन्दै गएको सुखडको माहौलमा प्रतिनिधिहरूका मुहार भने मलीन् छन् । ‘हामीहरू फुर्सदिला भएर आएका हैनौँ । निर्वाचन लम्ब्याउँदा खर्च पनि बढ्दै छ । सबै प्रतिनिधिहरू उम्मेदवार र नेताको खर्चमा बसिरहेका छैनौँ । धेरैले आफ्नै रकम खर्च गरिरहेका छौँ। यसरी अधिवेशन लम्बिँदै गयो भने केही प्रतिनिधिहरू त फर्किन थाल्नु भएको छ । अल्मल्याउने र भुलाउने प्रवृत्ति ठिक भएन,’ एक प्रतिनिधिले लोकान्तरसँग भने । अहिलेकै जिल्ला पदाधिकारीबाहेक नेतृत्व बाहिर जान नदिने रणनीतिमा वर्तमान कार्यवाहक अध्यक्ष दुर्गा जोशी र सचिव डेजी पाण्डे छन् । एकले अर्काका नाममा सहमति जुटाउन उनीहरू अधिकतम प्रयासमा छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा नदेखिएपछि प्रतिनिधिलाई अल्मल्याउने, दुःख दिने प्रवृत्ति उनीहरूले देखाइरहेको श्रोतको दाबी छ। कार्यवाहक अध्यक्ष जोशीले दाबी छोड्न सक्ने अवस्थामा नरहेको बताए । ‘नयाँ नेतृत्व चयनका सम्बन्धमा अध्यक्षमा मेरो दाबी यथावत् छ । सके सहमति नभए स्वस्थ प्रतिस्पर्धामा हामी जाने नै छौँ,’ जोशीले भने । मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना र जिल्ला सचिव डेजी पाण्डेले पनि दाबी छोड्ने कुनै सम्भावना छैन । जिल्ला उपसचिव ममताप्रसाद चौधरीले पनि निर्वाचन नै हुने भए अध्यक्षमा दाबी गर्ने बताइरहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM