धनगढी- प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको आठौं अडिसन आज सम्पन्न भएको छ ।
आठौं अडिसन कैलारी गाउपालिकाको हसुलियामा अवश्थीत दिपन्द्र मा.वि.मा आयोजना गरिएको हो । अडिसनमा ६ जनाले नृत्य र १ जनाले गायन विधामा भाग लिएका थिए । गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुदूरपश्चिमका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् ।
यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । यस सालको साउन देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५–१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता छनोट गरिनेछ । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ७५–७५ हजार र रु. ३०–३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।