बुधबार, जेष्ठ १, २०८२

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः नवजीवन सहकारको साथ

धनगढी । १९ चैतमा कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’लाई नवजीवन सहकारीले साथ दिएको छ । सहकारीले प्रायोजकका रुपमा साथ अवार्डलाई दिएको हो ।

नवजीवन सहकारीका अध्यक्ष देबबहादुर बम र आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझाले प्रायोजक सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । सहकारीका अध्यक्ष बमले खेल र खेलाडीको क्षेत्रमा विगतदेखि नै नवजीवनले सहयोग गर्दै आएको तथा आगामी दिनमा पनि गर्दै जाने बताए ।

सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नाम भने अवार्डकै दिन घोषणा गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

धनगढी रंगशालामा हुने अवार्डमा विभिन्न सांगितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका, पुनरवास नगरपालिका, परशुराम नगरपालिका, कृष्णपुर नगरपालिका, कैलारी गाउँपालिका तथा धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् ।
ad_wide