राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा यथासमयमै लिने स्पष्ट पारेको हो।
शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा प्रभावित हुने आशंका गरिएको थियो। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु गत चैत २० गतेदेखि आन्दोलनमा छन्। उनीहरुले शैक्षिक हडतालसँगै सडक संघर्ष पनि गरिरहेका छन्।
शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका बीच सरकार र महासंघबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन। आन्दोलनरत शिक्षकहरुले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ प्रकारका शिक्षक सेवालाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने लगायतका माग राखेका छन्।
यी माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागिता जनाउन नसक्ने उनीहरुको अडान छ। यद्यपि राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने निर्णय लिएको छ।