धनगढी – कञ्चनपुर टी –२० क्रिकेट प्रतियोगिता २०८१को उपाधि मालिकार्जुन हार्डवेयर अत्तरियाले आफ्नो हात पार्न सफल भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका –१० शिवनगरमा आयोजना गरिएको कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम होस्टेल धनगढीलाई २ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
आइतबार भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम होस्टेल धनगढीले २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । १०७ रनको लक्ष्य पाएको मालिकार्जुन अत्तरियाले १६.४ ओभरमा ८ विकेट गुमाएर १०७ रन बनाउँदै उपाधि हात पारेको हो ।
मालिकार्जुन अत्तरियाको तर्फबाट ४ ओभर बलिङ गर्दै १२ रन दिएर ३ विकेट हात पारेका भोजराज भट्ट म्यान अफ द म्याच भएका छन् । प्रतियोगिताको विजेता भएको मालिकार्जुन अत्तरियाले रु १ लाख र उपविजेता सुदूरपश्चिम होस्टेलले रु ५० हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगिता भरी उत्कृष्ट अलराउण्ड खेल खेलेर मालिकार्जुनका अशोक धामी म्यान अफ द सिरिज घोषित भएका छन् । उनले १० हजार सहित ट्रफी पाएका छन् । त्यस्तै मालिकार्जुनका अभिषेक पालले बेस्ट ब्यटसम्यान र वेस्ट बलर सुदूरपश्चिम होस्टेलका सचिन भट्ट भएका छन् । दुवैले रु ५ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।
असोज २४ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक सहित १६ टिम सहभागी भएका थिए ।