कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता आज, विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता भएको छ । काठमाडौंको होटल सोल्टीमा प्रधानमन्त्री दाहाल र अमिर अल थानीबीच वान टु वान भेटवार्ता भएको हो ।

उनीहरुबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल र अमिर थानीबीचको वार्तापछि द्विपक्षीय भेटवार्ता सुरु भएको छ । यो भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । यस्तै, दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले अमिर थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । थानीको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM