बुधबार, जेष्ठ १, २०८२

नेकपा (एमाले) अछामको ९औं जिल्ला अधिवेशनमा उप-सचिव पदका प्रमुख दावेदार सिद्ध प्रसाद ढुंगाना

अछाम – लामो समयदेखि विद्यार्थी आन्दोलनदेखि लिएर पार्टीको केन्द्रीय संरचनासम्म निरन्तर सक्रिय रहँदै आएका सिद्ध प्रसाद ढुंगाना नेकपा (एमाले) अछामको ९औं जिल्ला अधिवेशनमा उप-सचिव पदका लागि सबैभन्दा बलियो र लोकप्रिय दावेदारका रूपमा अगाडि आएका छन्।

ढुंगानाले बाल्यकालदेखि नै समाज परिवर्तनको चेत बोकेर राजनीति प्रवेश गरेका थिए। उनको सांगठनिक यात्रा विसं २०६४ मा अनेरास्ववियु श्री षोडशा मा.वि., मंगलसेनको प्रारम्भिक कमिटी सदस्यबाट सुरु भएको थियो। दुई वर्षमै उनी सचिव पदमा पुग्न सफल भए। त्यसपछि २०६७ र २०६८ मा शैलेश्वरी फारबेस्ट स्कुल अफ हेल्थ साइन्स, धनगढीमा काउन्सिल सदस्य हुँदै सभापतिको जिम्मेवारी सम्हाल्दै नेतृत्व क्षमताको स्पष्ट पहिचान गराए।

जिल्लादेखि केन्द्रसम्मको सक्रिय र सशक्त भूमिका

२०७० मा अनेरास्ववियु अछाम जिल्ला कमिटी सदस्य बनेपछि ढुंगानाको सांगठनिक यात्राले तीव्र मोड लियो। २०७७ मा उनी अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य बने। उता, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालमा उनी २०७१ मा केन्द्रिय समिति सदस्य, २०७७–७८ मा सुदूरपश्चिम संयोजक र हाल २०७८ यता केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन्।

उनको अर्को महत्त्वपूर्ण सांगठनिक यात्रा नेकपा (एमाले) अछाम–काठमाडौँ सम्पर्क मञ्चसँग जोडिन्छ। उनी २०७२ मा सदस्य, सचिवालय सदस्य, र २०७८ मा सचिव भएर क्रियाशील रहे।

स्वास्थ्य, शिक्षा र पूर्वाधारमा उल्लेखनीय नेतृत्व

सिर्फ संगठनमै सीमित नरही, सिद्ध प्रसाद ढुंगानाले अछामी जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नीतिगत हस्तक्षेप र पहलकदमी गर्दै आएका छन्।

२०७८ सालदेखि अछाम जिल्ला अस्पतालको निर्माणका लागि उनी निरन्तर पार्टी नेतृत्व र सम्बन्धित सरकारी पक्षसँग समन्वयमा छन्।

बयलपाटा अस्पतालको दीगो व्यवस्थापनका लागि उनले केन्द्रिय पार्टीलाई निरन्तर दबाब दिइरहेका छन्।

माओवादी द्वन्द्वमा ध्वस्त भएको ऐतिहासिक मंगलसेन दरबार पुनर्निर्माणमा उनी २०७९ देखि २०८१ सम्म लगातार क्रियाशील रहँदै, दरबार सम्पन्न गराउन सफल भएका छन्। साथै, दरबारलाई सुदूरपश्चिमकै प्रादेशिक संग्रहालय बनाउने अवधारणा अघि सारेका छन्।

मंगलसेन बहुप्राविधिक शिक्षालयलाई नेपाल सरकारको आङ्गिक संस्था बनाउने, त्यहाँ सामान्य चिकित्सा र फार्मेसी कार्यक्रम स्थापना गराउनेमा उनले निर्णायक भूमिका खेलेका छन्।

कमलबजारको नगरपालिका अस्पतालको अलपत्र स्थितिलाई संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुर्‍याई देशव्यापी बहस गराउन उनी सफल भएका छन्।

छात्रवृत्ति र खाद्यान्नमा पनि जनपक्षीय हस्तक्षेप

२०८१ सालमा बंगलादेश सरकारले नेपाललाई प्रदान गरेको छात्रवृत्ति कोटामा भएको अनियमितताका प्रमाणहरू प्रस्तुत गर्दै ढुंगानाले चिकित्सा शिक्षा आयोगको सिफारिस अनुसारको पात्रतालाई सुनिश्चित गराएका छन्।

त्यस्तै, अछाममा नेपाल सरकारले दिने अनुदान चामलको समस्यालाई लिएर पार्टी र सरकारी सरोकारवालासँग निरन्तर संवाद गरी समाधान गराउन उनले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ।

सादगी, विचारको स्पष्टता र जनताप्रति प्रतिबद्धता

सिद्ध प्रसाद ढुंगाना एक सादा जीवनशैली, गहिरो सांगठनिक अनुभव र जनताको हकहितप्रति स्पष्ट धारणा राख्ने नेताको रूपमा चिनिन्छन्। संगठनभित्र उनी एक इमानदार, मेहनती र समर्पित कार्यकर्ताका रूपमा स्थापित छन्।

नेकपा (एमाले) अछामको ९औं जिल्ला अधिवेशनमा उप-सचिव पदका लागि उनी प्रमुख दावेदार मात्र नभई भविष्यको नेतृत्व सम्भावना बोकेका सक्षम युवानेता पनि हुन्। कार्यकर्ताहरूको भनाइमा, “ढुंगाना जस्तो नेतृत्वले पार्टी र जनताको दुबै पक्षमा सेतुको भूमिका खेल्नेछन्।”

ad_wide