करोडौं लगानीमा खरिद भएका प्लाष्टिक पाइपहरु क्षतविक्षत

दिप श्रेष्ठ/सुदिप थापा

धनगढी – ढल निकासका लागि डोजर लगाएर पाईपहरु हटाइदै छ । नाली खन्ने क्रममा ति प्लाष्टिक पाईप निकाल्ने क्रममा प्वालै–प्वाल र त्यसमा क्षति पुर्याइएको छ । पानी निकासका लागि भइरहेको कार्य सह्रानिय रहेपनि राज्यको ठुलो लगानी भई खरिद भएका उच्च स्तरका प्लाष्टिक पाईपमा क्षति नपुर्याउँदा उपयूक्त हुने स्थानीयबासीहरु बताउँछन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का निवर्तमान सदस्य नारायण पाण्डेयले विशालनगरदेखि मित्रनगरसम्म डुवान हुने हुँदा डुवानमुक्त गराउन करोडौं लगानी गरेर प्लाष्टिक पाइप विच्छ्याइएको बताए । उनले भने –‘जेसिवि लगाएर त्यो पाइपमा क्षति पुर्याएको देख्दा दुःख लागिरहेको छ । जनताको एक–एक कर उठाएर प्लाष्टिक पाइप विच्छ्याइएको हो । बरु दुई चार जना थप बढी म्यानपावर लाग्थ्यो होला । त्यसलाई व्यवस्थित ढंगले निकाल्दा राम्रो हुने थियो ।’

उनले नगर प्रमुख गोपाल हमाल र वडा अध्यक्ष तथा वडा सदस्यहरुले यो विषयमा ध्यान नदिएको बताए । उनले भने –‘राज्यको लगानीमा बनेका संरचनाहरुको सदुपयोग गर्न जरुरी रहेको छ ।’ स्थानीय गजेन्द्र सिंहले निवर्तमान नगर प्रमुख नृपबहादुर वडको कार्यकालमा वडा नम्बर १३ देखि वडा नम्बर ३ को डुवान समस्या समाधान गर्न प्लाष्टिक पाइप राखिएको बताए । उनले भने –‘सो समयमा गरिएको कार्यले पूर्ण रुपमा समस्या समाधान नभएपनि आंशिक रुपमा समाधान भएको थियो । अहिले खुशीको कुरा भनेको मोहनादेखि राजपुरसम्म नाला निर्माण भइरहेको छ । काम पनि तित्र्र गतिमा भइरहेको छ । नराम्रो विषय भनेको हिजोका दिनमा हालिएको पाइप टुटेको झुक्रेको देखिन्छ ।’ उनले पाइप टुटेको देख्दा हिजो अढाई करोड लगानी खेर गएको जस्तै भएको बताए । उनले भने –‘त्यो पाइप राम्ररी निकालेर अर्को ठाउँमा उपयोग गर्दा लाभदायिक हुने थियो ।’ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कि कार्यबाहक अध्यक्ष मिना मल्ल सिंहले अहिले त्यति महँगो पाइपमा प्वाल पारिदा प्रयोगविहिन बन्ने जस्तो रहेको बताइन् । उनले भनिन–‘निर्माण कम्पनिले सो पाइपलाई सुरक्षित ढंगले निकालेको भए अन्यत्र प्रयोग गर्न सकिन्छ । त्यसैले प्वाल नपारी कुनै क्षति नगरि प्लाष्टिक पाईप निकाल्न कम्पनिसंग अनुरोध गर्दछु ।’ २०७८ साल चैतमा उपमहानगरपालिकाको करिब दुई करोड ७० लाख र उपभोक्ताको करिब पाँच लाखको श्रमदानसहित दुई करोड ७५ लाखको लागतमा एक हजार दुई सय मिटर लामो प्लाष्टिक पाइप राखिएको थियो । तर, सो ढलले केही समस्या समाधान भएपनि पूर्ण रुपमा समस्या समाधान गर्न सकेको थिएन् ।

अहिले ढल निकासका नाली निर्माण गर्न धनगढीको मोहना पुलदेखि चौराहसम्म वर्षात् पानी नाली निर्माण आयोजनाको सम्झौता असार २० गते भएको थियो । आयोजनाको सम्झौता भएको पाँच महिनापछि निर्माण कार्य अघि बढाइएको छ । दुई चरणमा गरिएको ठेक्का सम्झौता धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मोहनादेखि चौराहसम्म शुभलक्ष्मी–आदर्श जेभी र धनगढी उपमहानगरपालिका वडा नम्बर २ मोहनादेखि चौराहसम्म सनराइज–चन्द्रविकास–मष्टा जेभिसँग भएको छ । वडा नम्बर २ को योजनाको कुल लागत छ करोड पाँच लाख एक हजार आठ सय ३२ रहेको छ भने वडा नम्बर ३ को आठ करोड ४० लाख २९ हजार दुई सय ९३ रहेको छ । दुबै योजनाको २०८३ वैशाख १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने आयोजना कार्यालयले जनाएको छ । कार्यालयका आयोजना प्रमुख शिखर लामा तामाङका अनुसार वडा नम्बर ३ को नाली दुई÷दुई मिटरको चौडाईमा एक हजार चार सय ५० मिटर लम्बाई रहेको छ भने वडा नम्बर २ नालाको एक हजार तीन सय ६५ मिटर लम्बाई रहने छ ।

ad_wide