कर्मचारीकै सुझावका आधारमा निजामति ऐन बनाइनेछः मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले निजामति ऐन कर्मचारीको सुझावकै आधारमा सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

शनिबार निजामति कर्मचारी युनियन संघको दोस्रो अधिवेशनका समुद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले बनाएको ऐनमा केही कमजोरी रहेकाले कर्मचारीका सुझावका आधारमा सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।

‘कर्मचारीहरुको बृत वृद्धि हुन सकेको थिएन् । सोही कुरालाई ध्यानमा राखेर हामीले निजामति ऐन संशोधन गरे । त्यपछि नियमावली र विनियमावली बनाएका थियौं’ उनले भने –‘अझै पनि सो ऐनमा तपाईहरुका थुप्रै कुरा सम्बोधन हुन सकेको छैन । त्यसका लागि तपाईहरुले दिएको सुझावकै आधारमा सरकार अघि बढ्छ ।’

उनले संवाद र छलफलबाटनै ऐनमा भएका असन्तुष्टिहरुलाई संवोधन गर्न सकिने बताउँदै –‘ऐन तपाई हाम्रै लागि बन्ने हो । त्यसमा असन्तुष्टि भएका बुँदाहरु बाहिरबाट आएर कोही व्यक्तिले सच्याउँदैन । तपाईहरु भ्रममा नपर्नुहोस् । यसको निकास तपाई हामीलेनै दिने हो । सरकार तपाईसंग संवाद गरेरनै अघि बढ्छ ।’

मुख्यमन्त्री शाहले छिट्टै प्रदेश सरकारले स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले भने –‘अहिले विधेयक विधायन तथा प्रदेश मामिला समितिमा रहेको छ । समितिले प्रदेश सभामा दर्ता गरेपछि पारितका लागि अघि बढ्छ । अहिले सदन चल्न सकेको छैन । त्यसकारण पनि विधेयक ल्याउनमा ढिलाई भएको हो । सम्भवतः दुई चार दिनमा सदन बस्छ र सो विधेयक टेबल हुन्छ ।’

संघका कैलाली अध्यक्ष खेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कैलाली सचिव केशव मिश्र, संघका पदाधिकारी, सदस्य, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

ad_wide