धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले गरेका शिक्षासम्बन्धी निर्णयहरू कार्यान्वयनमा आउन थालेका छन्। नगरपालिका कार्यपालिकाले २०८१ चैत २७ मा गरेका निर्णयअनुसार अबदेखि नगर अन्तर्गतका जनप्रतिनिधि, सामुदायिक विद्यालयका व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्य, त्यस्ता विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीका छोराछोरी र एउटै घरमा बस्ने सबै बालबालिकालाई शैक्षिक सत्र २०८२ देखि अनिवार्य रूपमा सामुदायिक विद्यालयमै भर्ना गराउनु पर्ने व्यवस्था गरिएको हो।
त्यस्तै, निजी विद्यालयका शिक्षक, कर्मचारी तथा सञ्चालकहरू सामुदायिक विद्यालयको कुनै प्रशासनिक वा व्यवस्थापकीय भूमिकामा रहन नपाउने निर्णय पनि गरिएको छ। यस निर्णयको पालना गर्दै कंचन माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्मा चौधरी, सहायक प्रधानाध्यापक चक्र ब. पालसहित सात शिक्षकले आफ्ना छोराछोरी दुर्गालक्ष्मी नमुना विद्यालय, अत्तरियामा भर्ना गराएका छन्।
निर्णय लागू भएपछिको प्रभाव देखिन थालेको छ। अहिले विभिन्न राजनीतिक दलका नेतादेखि सरकारी कर्मचारीसम्म आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन्।
तर यो निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। नगरप्रमुख हेमराज ओझाले सामाजिक सञ्जालमार्फत अदालतको जवाफ दिन आफू भोलि अदालत जाने जानकारी दिएका छन्।