बुधबार, जेष्ठ १, २०८२

कृष्णपुर नगरपालिकामा सरकारी सेवामा रहेकाहरुले छोराछोरीहरुलाई अनिवार्य सामुदायिक स्कुलमै पढाउनुपर्ने

कञ्चनपुर – गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले अनिवार्य आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । नगरपालिकाको चैत ३१ गते बसेको ३८ औँ कार्यपालिका बैठकले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।

शैक्षिक सत्र २०८२ देखि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा विद्यालयका कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने कार्यपालिका बैठकबाट भएको निर्णय कार्यान्वयनमा नगरपालिकाका जनप्रतिनिधि खटिएका छन् । जनप्रतिनिधि र सरकारी सेवाका कर्मचारीको ध्यान सामुदायिक विद्यालयमा नगएका कारण गुणस्तर घटिरहेको गुनासो आएको समयमा पालिकाले यस्तो निर्णय गरेको सूचना अधिकारी प्रेम बोगटीले बताए ।

यसैगरी नगरपालिकाको कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा भर्नादर बढाउन जनप्रतिनिधिलाई विद्यालयमा खटाउने निर्णय पनि गरेको सूचना अधिकारी ठगुन्नाले बताए । उनका अनुसार कार्यपालिका बैठकले नगरप्रमुखदेखि वडा सदस्यसम्मलाई वडागत रूपमा जिम्मेवारी तोकेको छ । कृष्णपुरमा रहेका ३२ वटै सामुदायिक विद्यालयमा अभियान सञ्चालन गरिएको उनले बताए ।

मङ्गलबार वडा नम्बर ४ स्थित कृष्ण माध्यमिक विद्यालयमा नगरप्रमुख हेमराज ओझाले विद्यार्थी भर्ना अभियानको सुरुवात गरेको छ । उनका अनुसार नगरपालिकाको निर्णय अनुसार सबै वडामा जनप्रतिनिधि भर्ना अभियानमा सहभागी भएका छन् ।

ad_wide