धनगढी – कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ का स्थानीय विगत पाँच वर्षदेखि पानीको अभाव झेल्दै आएका छन्।
२०७६ सालमा नवजीवन सेवा सङ्घको सहयोगमा कैलारी गाउँपालिका, जनचेतना सरसफाई तथा खानेपानी सङ्घ र स्थानीय घरधुरीको सहयोगमा पानी ट्याङ्कीको निर्माण भएको थियो। निर्माणको लामो समयसम्म स्थानीयको घरमा पानी आएन तर चार महिना अगाडि सबै स्थानीयको घरमा पानीको धारा जोडियो तर चार महिनासम्म धारामा धमिलो पानी आउने गरेको र गुनासो गर्दा बेवास्ता गरिने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।
विगत पाँच वर्ष अगाडि भनेको पानी लामो समय पश्चात् गाउँमा पुगेको तर अहिले पनि खान योग्य नरहेको कैलारी गाउँपालिका ५ का स्थानीय रामदास कठरियाले बताएका छन्। जेठ महिनामा आफ्नो घरमा पानीको धारा जोडिएको तर धारामा पानी नियमित रूपमा नआउने र आएपनि कहिले रातो त कहिले कालोपानी आउने गरेको सोही ठाउँकी स्थानीय बतासे चौधरीको भनाइ रहेको छ। पानी नहुँदा आफू मात्रै नभएर पुरै स्थानीय नै समस्यामा रहेको उनको भनाइ रहेको छ।
घरमा धारा जोडिएको छ । जडान भएदेखि एकदिन पनि पिउन योग्य पानी आएको छैन । गुनासो गर्दा गर्दै हैरान भइसकेको अर्का स्थानीय ओमबहादुर चौधरीले दुखेसो पोखे गुनासो सुनाउँछौं तर हुँदैछ बाहेकको जवाफ कहिले आउँदैन अहिले त गुनासो गर्न समेत छोडिसकेको उनी बताउँछन् ।
वडा नम्बर ५ बाट आफूलाई विभिन्न बेलामा सो बारेमा गुनासो आएको र आफूले त्यो ठाउँको खानेपानीको समस्याको बारे जिल्लामा रिपोर्ट गरेको र आफूले पनि स्थलगत निरीक्षण गर्दा सो पानीमा समस्या देखिएको कैलारी गाउँपालिकाका खानेपानी तथा सरसफाई शाखा प्रमुख शंकरदत्त अवस्थीले बताए ।
खानेपानीका सम्पूर्ण चरणहरू पूरा गरिसके पनि खानेपानी ट्याङ्कीमा फिल्टर मेसिन नहुँदा सो समस्या आएको र स्थानीयको जनगुनासो स्वभाविक रहेको वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद चौधरीको भनाइ रहेको छ । वडा नम्बर ५ का धेरै घरहरूमा धारा जडान भइसके पनि पानी नियमित र सफा आउन नसकेको उनले बताए । आफ्नै घरमा समेत खानेपानी जडान भइसकेको छ । तर खान योग्यको पानी नआएको उनले बताए ।
समस्याको बारेमा कैलारी गाउँपालिकाका अध्यक्ष राजसम्मत चौधरीलाई बुझ्दा उनले आफूलाई सोबारेमा गुनासो नआएको तर त्यो बारेमा आफूले त्यहाँको उपभोक्ता समिति र वडा अध्यक्षलाई बुझ्न लगाएर समस्या समाधानतिर लाग्ने बताएका छन्।