शेर बहादुर ऐर/ सुदिप थापा
धनगढी
गर्भा दरबार नेपालको राणाकालीन दरबार हो । यो तल्लो बोगटान अन्तर्गत पञ्चायतकालको निगाली गाउँ पञ्चायत वार्ड नम्बर ८ त्यस पछि कैलाली जिल्ला साविक खैराला गाउँ विकास समिति वार्ड नम्बर ३ र वर्तमान चुरे गाउँपालिका वार्ड नं ४ मा रहेको छ । गर्भा दरबारको निर्माण खड्कशमशेर राणाले गरेका हुन् । यो दरबार वि.स. १९८४ मा निर्माण भएको मानिन्छ । कैलाली जिल्लाको सदरमुकाम धनगढी देखि ४५ किलोमिटरको दुरीमा गर्भा दरबार रहेको छ । तत्कालीन अवस्थामा तराईमा औंलो सरोटो लाग्ने गर्दथ्यो । औलों सरोटोबाट बाँच्न र शुद्द सफा हावापानी भएको सुरक्षाको दृष्ट्रिकोणले उपयुक्त स्थान पहिचानगरी आफूबस्नकोलागि राणा शासकले यो दरवार निर्माण गराएका थिए । यस्तै प्रकृतिको एक अर्को राणाको दरवार चौमाला गाउँमा निर्माण भएको थियो । चौमालामा निर्माण भएको दरवार भत्कीएर त्यसको नाम निसाना हराई सकेको छ, भने गर्भादरवारको यो जीर्ण भवन जिवतै छ । चुरे पहाडको उत्तरपट्टी गर्भा भन्ने गाउँमा दरवार निर्माण भएको हुँदा यसलाई गर्भादरवार भनिन्छ । यो स्थान कैलाली जिल्ला गौरीगंगा नगरपालीकाको चौमाला बजारबाट उत्तरतर्फ ६ घण्टा पैदल यात्राको दुरीमा पर्दछ । यस दरवारमा चौमालाका ईटा, तराईभावरका सालका काठ र टिनको छाना प्रयोग गरिएको छ । तत्कालीन जन्ताहरूबाट यी समग्री तराईबाट बोकाएर राणाले यो तीन तले दरवार निर्माण गराएका थिए ।
गर्भदरवारको आँगनमा मोहन्याल देवताको स्थापना छ । कार्तिक शुक्लदशमीका दिन यहाँ मोहन्यालको जाँत हुन्छ । यस जाँतमा मोहन्यालका वीरहरु वेताल, गडाल,भैरौ र मसानी देवताका धामीहरू नाँच्ने गर्दछन । उपमन्यु गोत्रीय विनाडी ब्राह्मण त्यहाँ मोहन्याल र केदारको वैदिक विधि विधानले पुजा लगाई दिन्छन । डिले औजीको सन्तान केदार र मोहन्यालको दमाउ बजाउने गर्दछ ।
स्थानिय गौरिलाल दियाकोटिले हाम्रो वडामा राणकालिन गर्भा दरवार, कम्पासे धुरा, चमेरु गुफा, बागे झरना लगाएतका पर्यटककीय स्थलहरु छन् । अहिले काफल पाकेर लटलम्मै छ यहाँ तराईको गर्मी छल्नको लागि यहाँ उपयुक्त रहेको उनको भनाई छ । यहाँ आउन वाटोको सारै समस्या छ, कैलाली जिल्लाकै सबै भन्दा विकट क्षेत्र रहेको हुदा वाटो बनाईदिन उनले सरकार संग माग गरेका छन् ।
चुरे गाउँपालिकाको वडा नं. ४ का वडा अध्यक्ष चन्द्र बहादुर लिमिछाने मगरले हाम्रो क्षेत्रलाई चिनाउने ऐतिहासिक महत्व बोकेको गर्भादरवारको पुर्नस्थापना गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए । गर्भा दरवारको एक सय वर्ष पुगे पछि पुरातत्व विभागले पुनर्निर्माण गर्ने उनले बताए । उनले भने दरवारको संरक्षण गर्नको लागि वरिपरि घेरवार गर्नको लागि पर्खाल हाल्ने काम गरिरहेको उनले बताए ।
गर्भा दरवार निर्माण भएको एक सय वर्ष पुरा हुन केही वर्ष मात्र वाँकि छ । त्यस पछि जुन स्वरुपमा गर्भा दरवार निर्माण गरिएको थियो त्यही स्वरुपमा पुरातत्व विभागले पहिलेकै स्वरुपमा ल्याएर पुनर्निर्माण गर्ने छ । दरवारको पुनर्निर्माण भए पछि यस क्षेत्रको पर्यटककीय गतिविधि वढने स्थानिय वासिन्दाहरु बताउछन् ।