कैलालीको चुरे गाउँपालिका संस्थागत स्वमूल्याँकनमा उत्कृष्ट

धनगढी– कैलालीका स्थानीय तहको स्थानीय सरकार संस्थागत क्षमता स्वःमूल्यांकन आर्थिक वर्ष २०८०/८१ मा सुधार भएको छ ।

नेपाल सरकारको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष सार्वजनिक हुँदै गएको स्थानीय तह संस्थागत क्षमता मुल्यांकन (लिजा)मा आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष ८०/८१ को नतिजामा सुधार भएको जनाइएको हो ।

आइतबारसम्म लिजामा कैलालीका १३ मध्ये ११ वटा पालिकाको नतिजा सार्वजनिक गरिएको छ । कैलालीको घोडाघोडी र गोदावरीबाहेक सार्वजनिक गरिएका ११ पालिकामध्ये चुरे गाउँपालिकामा उत्कृष्ट रहेको छ ।

स्वमूल्यांकनमा ९१ दशमलब २५ अंक ल्याएर उत्कृष्ट बनेको हो । कैलालीको घोडाघोडीको नतिजा पृष्ठपोषण भइरहेको र गोदावरी नगरपालिकाको कार्यपालिकाबाट अनुमोदनका क्रममा रहेको उल्लेख छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ कार्यविधिमा स्थानीय तहमा स्वमूल्याङ्कनका लागि दसवटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका छन् । ती विषय क्षेत्रमा शासकीय प्रबन्ध, संगठन र प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र न्यायिक कार्यसम्पादन छन् ।

यसैगरी भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन एवं सहकार्य र समन्वयजस्ता विषयलाई समेत स्वमूल्याङ्कनमा समावेश गरिएको छ ।

यी दसवटा विषय क्षेत्रमा विभिन्न एक सयवटा सूचक निर्धारण गरी एक सय नै पूर्णांक रहने गरी प्रत्येक सूचकको निश्चित अंकभारसमेत निर्धारण गरिएको छ । यसमध्ये सार्वजनिक सेवा प्रवाहमा सबैभन्दा बढी सोह्र सूचक रहेका र सेवा प्रवाहलाई सबैभन्दा उच्च अंकभार निर्धारण गरिएको छ । वार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तीय एवं आर्थिक व्यवस्थापनलाई सेवा प्रवाहपछि उच्च महत्व दिई एघारवटा सूचक र सोहीअनुसारको अंकभार निर्धारण गरिएको छ ।

यसैगरी भौतिक पूर्वाधारअन्तर्गत तेह्रवटा, सामाजिक समावेशीकरणमा दसवटा, शासकीय प्रबन्ध र वातावरण व्यवस्थापनअन्तर्गत नौ–नौवटा, संगठन तथा प्रशासनअन्तर्गत आठवटा तथा न्यायिक कार्यसम्पादनमा सातवटा विभिन्न सूचक तय गरी अंकभार निर्धारण गरिएको छ ।

सहकार्य र समन्वय विषय क्षेत्रअन्तर्गत सबैभन्दा कम छवटा सूचक निर्धारण भएका छन् ।

जसमा सबैभन्दा बढी चुरे गाउँपालिकाले ९१.२५, धनगढी उपमहानगरपालिकाले ९०, जानकी गाउँपालिकाले ८६ दशमलब २५, वर्दगोरीया गाउँपालिकाले ८९ दशमलब २५, जोशीपुर गाउँपालिकाले ७३ दशमलब ५, गौरीगंगा नगरपालिकाले ८४.२५ र लम्कीचुहा नगरपालिकाले ७३ नम्बर ल्याएका छन् ।

यस्तै, भजनी नगरपालिकाले ७६ दशमलब पाँच, कैलारी गाउँपालिका ७०, मोहन्याल गाउँपालिका ७१ दशमलब पाँच र टीकापुर नगरपालिका ७३ दशमलब २५ अंक ल्याएको छ ।

स्थानीय तहहरुको सेवा प्रवाहमा सुधार भइरहेको भएपनि शासकिय, भौतिक पूर्वाधार, वातावरण, समन्वय लगायतमा सुधार हुन नसकेको सो तथ्यांकले देखाएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये अहिलेसम्म ५९ स्थानीय तहको मात्र नतिजा सार्वजनिक गरेको छ । ११ स्थानीय तहको नतिजा अनुमोदनका लागि पेश भएको छ भने १३ स्थानीय तहको पृष्ठपोषण भइसकेको उल्लेख छ ।

ad_wide