कैलाली- कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरेर घर फर्कँदै गरेकी एक युवतीको मृत्यु भएको छ। बर्दियाको राजापुर नगरपालिका–९, घर भएकी १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी भारतको हलद्वानीमा उपचार गरेर भारतीय नम्बरको एम्बुलेन्समा आफन्तसँग घर फर्कने लागेकी थिइन्। दुर्घटनामा गम्भीर घाइते उनको स्थानीय लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सरस्वती अधिकारीले जानकारी दिइन्। एम्बुलेन्समा सवार अन्यको अवस्था भने सामान्य रहेको उनले बताइन्।
मृगौला र फोक्सोसम्बन्धि रोगबाट पीडित परियारलाई अस्पतालले थप उपचार सम्भव नभएको बताएपछि आफन्तले घर ल्याइरहेका बुझिएको प्रहरीले जनाएको छ। भारतीय युके०४ पीए १९०५ नम्बरको एम्बुलेन्स पूर्व(पश्चिम राजमार्गअन्तर्गत लम्की(चुहा नगरपालिकाको बलचौरमा आज बिहान दुर्घटना भएको हो। प्रहरी निरीक्षक अधिकारीले अनियन्त्रित भएर एम्बुलेन्स दुर्घटना भएको बताइन।