धनगढी । कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा भएको दुर्घटनामा ज्यान गुमाउने बालक रहेको खुलेको छ भने २७ जना घाइते भएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्थामा गम्भीर रहेको छ ।
कैलारी गाउँपालिका–५ को मनिकापुरमा बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी चढेको नम्बर नखुलेको ट्याक्टर शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि बताए । उनकाअनुुसार ट्याक्टरमा सवार भारतको लखिमपुर खिरीका ११ वर्षीय बालक आयुश बर्माको मृत्यु भएको छ ।
घाइते अवस्थामा सेती प्रादेशिक अस्पताल पुगाइएका बर्मालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खड्काले बताए । अन्य तीन जना गम्भीर घाइते अवस्थामा छन् ।
घाइते मध्ये १२ जनाको सेती प्रादेशिक अस्पताल र १५ जनाको धनगढीकै निसर्ग हस्पिटलमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना गम्भीर, १२ जना मध्यम र १२ जना समान्य घाइते रहेको प्रहरीको भनाई छ । ट्याक्टर दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।