कैलाली प्रिमियर लिंग ३– शुक्लाफाँटा र जोरायल विजयी

धनगढी- धनगढीको फाप्लामा जारी तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको दोश्रो दिनको खेलमा शुक्लाफाँटा र जोरायल विजयी भएको छ । पुनर्वासलाई हराउँदै शुक्लाफाँटा र घोडाघोडीलाई हराउँदै जोरायल विजयी भएको हो ।

बिहिबारको पहिलो खेलमा शुक्लाफाँटा नगरपालिकाको टिमले पहिलो जित हाँसिल गरेको छ । पुनर्वास नगरपालिका ए लाई ६ विकेटले पराजित गर्र्दै प्रतियोगीतामा पहिलो जीत निकालेको छ ।

पुनर्वास नगरपालिका ए ले दिएको १५५ रनको लक्ष्य शुक्लाफाँटा नगरपालिकाले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । शुक्लाफाँटा नगरपालिकाका लागि सुरज तिरुवाको अलराउण्ड प्रर्दशन गरे । उनले बलिङ तर्फ २ विकेट तथा ब्याटिङ तर्फ अविजित ५३ रन बनाए । उनी म्यान अफ दी म्याच चुनिए । शुक्लाफाँटा नगरपालिकाका लागि निराजन गौतम र अशोक बिस्टले आक्रामक इनिङ खेले । गौतमले २४ बलमा ३७ तथा बिस्टले १४ बलमा ३१ रन बनाए । त्यस्तै लोकेश जोशीले १३ तथा अशोक धामीले अविजित ७ रन बनाए । पुनर्वास नगरपालिका ए का लागि पारस शाहीले २ तथा निरज ऐर र सन्तोष दियालले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका ए टिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । पुनर्वास नगरपालिका ए का लागि कप्तान अविनास सिंह र संदिप भण्डारीको जोडीले ६८ रनको साझेदारी गरेको थियो । भण्डारीले ४२ रन कप्तान सिंहले ३९ रन ,पारस शाहीले २८ रन बनाएका थिए भने पारस सुनार १३ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन । शुक्लाफाँटा नगरपालिकाका लागि कैलाश ऐर र निराजन गौतमले समान दुई दुइ तथा सुरज तिरुवा र अशोक धामीले समान एक एक विकेट लिए ।

चौथो खेलमा कप्तान योगेश भाट अर्धशतक तथा बसन्त खत्रीले अलराउण्ड प्रर्दशन गरेपछि जोरायल गाउँपालिकाले पहिलो खेलमै ६ विकेटको सहज जित हाँसिल गरेको छ ।

पहिलो खेलमा पुनर्वास बीसँग १०९ रनले पराजित भएको घोडाघोडी नगरपालिका दोश्रो खेलमा पनि हार व्यहोर्दै प्रतियोगीताबाट बाहिरिएको छ । घोडाघोडी नगरपालिकाले प्रस्तुत गरेको १२५ रनको लक्ष्य जोरायल गाउँपालिकाले १४ ओभरमा ४ विकेट गुमाउँदै १२६ रन बनाएर पूरा गर्यो । जोरायल गाउँपालिकाका लागि कप्तान योगेश भाटले ५४ रनको अर्धशतकीय पारी खेले ।

४२ बलको सामना गरेका भाटले ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै बसन्त खत्रीले ब्याटिङ तर्फ ३२ रन तथा बलिङ तर्फ ३ विकेट चट्काए । अयुब चन्दले १५ रन बनाउँदा दिपक रोकाया ८ रनमा अविजित रहेभने दिनेश रावत ४ रनमा पवेलियन फर्किए । घोडाघोडी नगरपालिकाका लागि सुधांशु रावलले २ विकेट चट्काए भने निराजन रावल र नबिन भण्डारी समान एक एक विकेट लिए । खेलमा अर्धशतक हिर्काएका कप्तान भाट म्यान अफ दी म्याच चुनिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घोडाघोडी नगरपालिकाको टिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । घोडाघोडी नगरपालिकाका लागि जिवन थलाले सर्वाधिक ३६ रनको अविजित पारी खेले । त्यसैगरी निराजन रावलले २०,सुधांशु रावलले १५,जगेन्द्र भण्डारी १२, भुपेश जोशी १० तथा कप्तान जोविन्द विस्टले ९ रन बनाए । जोरायल गाउँपालिकाका लागि दिपक रोकाया र बसन्त खत्रीले समान तीन तीन विकेट लिए भने सौर्य श्रेष्ठले २ विकेट लिए ।

धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी, समूह सी मा त्रीवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।

ad_wide