धनगढी
– कैलालीमा आजदेखि जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियन सुरु भएको छ ।
फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीले क्रिसेन्ट सिटी स्कुललाई ८ रनले हराएको छ ।
जितका लागि पाएको १२२ रनको लक्ष्य पछ्याएको सिटीले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा ११३ रन मात्रै बनाउन सक्यो ।
जसमा लालमनि श्रेष्ठले ४३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।
क्रिस्टलका रोहित विष्टले ३ विकेट लिए ।
यसअघि पहिला ब्याटिंग गरेको क्रिस्टलले १५ ओभरमा ५ विकेटको क्षतिमा १२१ रन बनायो ।
उसका रोशन रावलले सर्वाधिक ४१ र रोहित विष्टले २८ रन हिर्काए ।
रोहित प्लेयर अफ द म्याच चुनिएका प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयो ।
यसअघि एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको थियो ।
उद्घाटन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य विक्रम विष्ट, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐर,कैलाली जिल्ला क्रिकेट संघका सचिव देवनारायण झा,कोषाध्यक्ष विनोद लामा,जिल्ला सदस्य लोकबहादुर खड्कालगायतको उपस्थिती रहेको थियो ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता जेठ ७ गते सम्पन्न हुनेछ ।
यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिनेछ ।