धनगढी – गोदावरी नगरपालिकाले कक्षा ८ को पालिका स्तरीय नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार कूल ३ हजार १४८ जना विद्यार्थी सहभागीमध्ये १हजार ७२० जना (५४.६३ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्। भने १ हजार ४२८ जना फेल भएका छन् ।
फेल भएका मध्ये ७ सय ८५ जना विद्यार्थी ग्रेड वृद्धि (पुरक) परीक्षा दिन पाउने शिक्षा शाखा अधिकृत प्रयागराज जोशीले बताए। उनका अनुसार, “नतिजाले शिक्षा क्षेत्रको अवस्था देखाएको छ। सुधारका लागि सामूहिक प्रयास आवश्यक छ।”
निजी विद्यालयले उत्कृष्ट नतिजा ल्याएको देखिएको छ। पीआर इङ्लिस बोर्डिङ स्कुल, जेके सेकेन्डरी स्कुल र एभरेस्ट एकेडेमीले शतप्रतिशत नतिजा ल्याएका छन्। अधिकांश निजी विद्यालयको नतिजा राम्रो आए पनि सरकारी विद्यालयहरूको अवस्था भने कमजोर देखिएको शिक्षा शाखा अधिकृत जोशी भनाइ छ।
यद्यपि, शिक्षा शाखा अधिकृत जोशीले गत वर्षको तुलनामा केही सरकारी विद्यालयमा सुधार देखिएको बताएका छन्। उनले शिक्षाको गुणस्तर सुधारमा शिक्षक, अभिभावक र विद्यार्थी सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए । गोदावरी नगरपालिकाले सरकारी विद्यालयमा शिक्षक व्यवस्थापन, तालिम, नियमित कार्यक्रम र अनुगमनलाई प्राथमिकतामा राख्दै आएको समेत उनले जानकारी दिए।