अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा न. ३ मा बृहत फोहोर ब्यावस्थापन प्रणाली संचालन हुदै गर्दा यस ठाउँमा मानिसहरुलाई हाते कडाई तालिम सुरु गरेको छ ।
क्षेत्रीय सहरी विकास आयोजना (RUDP) अन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा प्रभावित समुदायको आर्थिक उपार्जनका लागि हाते कडाई (बुटिक) तालिम उद्घाटन भएको छ। क्षेत्रीय सहरी विकास आयोजना (RUDP) धनगढी, कैलाली अन्तर्गत सञ्चालन भएको उक्त तालिम ४५ दिन (१८० घण्टा) अवधिसम्म सञ्चालन हुनेछ।
गोदावरी नगरपालिका वडा नम्बर ३, मालाखेतीमा सम्पन्न कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्टले स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने बताए। उनले भने, “फोहर व्यवस्थापन मात्र हाम्रो लक्ष्य होइन, यससँगै प्रभावित समुदायलाई आयआर्जनका अवसरहरू प्रदान गर्नु आवश्यक रहेको बताएका छन ।
नगर प्रमुख भट्टले वातावरणीय व्यवस्थापनसँगै व्यावसायिक तालिमहरूलाई प्राथमिकता दिनु पर्ने बताए। “फोहरलाई संसाधनमा रूपान्तरण गर्दै यस क्षेत्रका नागरिकलाई आयमुखी बनाउनु हाम्रो अभियान हो,” उनले थपे।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष तेजराज अवस्थिको अध्यक्षता गरेका थिए भने RUDP धनगढी, कैलालीका आयोजना व्यवस्थापक शिखर लामा तामाङ, नगर प्रवक्ता गोपाल दत्त भट्ट, परामर्शदाता इन्जिनियर दिपेन्द्र कुमार पाध्याय र निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डे अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रम सञ्चालन केशब राज पन्तले गरेका थिए। उनले तालिमबारे जानकारी दिँदै सहभागीहरूले आधुनिक तथा परम्परागत ढाँचाका कपडाहरूमा डिजाइनसहित बुटिक कार्यको सीप प्राप्त गर्ने, स्वरोजगार बन्ने तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने अवसर पाउने बताए।
आयोजना व्यवस्थापक तामाङले तालिमका माध्यमबाट स्थानीयलाई रोजगारी सिर्जना गर्न, फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न र वातावरणीय सुधारमा टेवा पुर्याउन मद्दत गर्ने उल्लेख गरे।
गोदावरी नगरपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै स्थानीय समुदायलाई उद्यमशीलतामा जोड्ने योजना बनाएको छ।