कैलालीको गोदावरी नगरपालिका– ७ लालपुरमा रहेको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा महायज्ञ सुरु भएको छ । प्रकटेश्वर शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा आजदेखि श्रीमद्भागवात् पितृ मोक्ष सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको हो ।
महायज्ञको एक औपचारीक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । प्रकटेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक खडक ओलीको सभापतित्वका आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा कथा वाचक अध्युत शरण महाराज (धिताल) रहेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले गोदावरी आफैमा एउटा पवित्र भूमि भएको बताए । उनले गोदावरी नगरपालिकाको नामाकरण नै सुदूरपश्चिमको पवित्र तिर्थस्थलबाट भएको बताए । ‘यो गोदावरी आफैमा एउटा पवित्र भुमी हो, यसको नामबाट नै हाम्रो गोदावरी नगरपालिकाको नामाकरण भएको छ’ उनले भने ‘यस्ता कार्यक्रमले सकारात्मक सोच विकासका लागि टेवा पुग्छ, यसले भूमिको पनि पुजन हुन्छ, शुद्धिकरण हुन्छ, हाम्रो समाज पनि अगाडि बढ्छ ।’ उनले यस्ता कार्यक्रममा युवालाई जोड्न आवश्यकता रहेको बताउँदै लालपुरमा आरोग्य तथा आध्यात्मिक उद्यान स्थापनाका लागि महायज्ञ आयोजना गरिनु सह्रानिय कार्य भएको बताए ।
उनले यस्ता स्थानहरुमा नै सबैले आफूले सक्दो सहयोग गर्नुपर्ने बताए । थोरै थोरै गरेर नै धेरै रकम संकलन हुने र यस्तै स्थानमा दान गर्नुपर्ने भएकाले आफ्नो स्थान बनाउन दान गर्न जरुरी हुने उनले बताए । ‘हाम्रो ठाउँको विकास गर्नु छ भने हामी सबैको योगदान हुनु आवश्यक छ’ उनले भने ‘यो राम्रो कामका लागि म मेरो तर्फबाट २५ हजार दिने बाचा गर्दछु ।’ उनले ज्ञान भूमि, आनन्द भूमि बनाउने योजनाका लागि नगरपालिकाबाट पनि आगामी आर्थिक वर्षको बजेटमा छलफल गर्ने बताए । उनले बजेटको कमी भएमा प्रदेश सरकार सँग आग्रह गर्न पनि आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।
यही वैशाख २९ गतेसम्म लाग्ने महायज्ञ मन्दिरको सर्वाङ्गीण विकासका लागि आयोजना गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष खडक ओलीले जानकारी दिए । उनले महायज्ञले मन्दिरको सर्वाेपरी विकासमा सहयोग पुग्ने अपेक्षा रहेको बताए । महायज्ञको प्रमुख कथावाचकका रुपमा नेपाली भाषाका श्रृङ्गारिक प्रखर कथा वाचक अध्युत शरण महाराज (धिताल) रहेका छन भने यज्ञाचार्य पण्डित हरेन्द्र प्रसाद जोशी रहेका छन । यस्तै बालसंस्कार अभियन्ता समिक्षा दास गिरीले पनि बाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीले बताए ।