नवराज जाेशी
भारतको साकेत राज्यमा ओक्काक नामका राजाको शासन थियो। पाँच रानीका एक्ला राजा, ओक्काकले छैठौं विवाह गरे।
विवाह पश्चात् जन्तु नामक राजकुमारलाई राजा बनाउन कान्छि रानीले अनेक षड्यन्त्र रचेपछी जन्तु राजा भए र पहिलो श्रीमतीबाट जन्मेका ४ भाइ राजकुमार र ५ राजकुमारीहरुलाई निर्वासनमा पठाउने निर्णय गरियो।
उक्त घटना पश्चात् निर्वासनको क्रममा कपिल आश्रममा बसि उक्त स्थानमा भएका साल( साक)का रुख काटी बस्ती बसाएकोले उनीहरुलाई शाक्य भनियो भनेर एक पुस्तकमा लेखिएको छ। यसरी बसाएको राज्य सञ्चालन र वंश विस्तार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै ज्येष्ठ दिदिलाई राजमाता घोषित गरे र साथै अन्यसङ्ग वैवाहिक सम्बन्ध गाँसे। यो कुरा राजा ओक्काक कहाँ पुगेपछी राजाले 'सक्य हुन्' भन्ने भाष्य सृजना भयो जसबाट शाक्य शब्दको प्रादुर्भाव भएको भन्ने कुरा उक्त पुस्तकमा लेखिएको छ।
यो त भयो थोरै पृष्ठभुमिका कुरा अब उनको जीवन भोगाइ र प्राप्तिका कुरा गरौँ।
शाक्य वंशमा जन्मिएका एक साधारण राजकुमार, सिद्धार्थ आज एक भगवानको रुपमा स्थापित छन्। यो प्राप्ती कठिनाईको पराकाष्ठा वा चरम सीमापछिको हो। हुनुपर्ने राजा थियो तर भगवान बनेर गए। स्वभावैले मानिस भोगविलासमा रमाउँछ तर सिद्धार्थलाई मानिसका दु:ख, पीडा जस्ता भावनात्मक आवेगको समाधान खोज्नमा रमाउनु थियो। वैवाहिक सम्बन्धमा बाँधिएका सिद्धार्थबाट एक पुत्रको जन्म भयो।
खुशी हुनुको साटो 'राहु' को संज्ञा दिएका उनले विछिप्त अवस्थाका मानिस देखेर एक दृढ सङ्कल्प लिए। मध्यरातमा झोली झ्याम्टो बोकि सबै सुतेको मौकामा दरबार त्यागी विछिप्तताको कारण र निवारणको खोजिमा भारतको 'गया' भन्ने ठाउँमा पुगे। गयाको एक वृक्षमुनी बुद्धत्व प्राप्त गरि भगवान बुद्ध बने उनी।
आफूले प्राप्त गरेको ज्ञानलाई चार आर्य सत्य र ८ ज्ञानमार्ग मार्फत आफ्ना अनुयायी र सम्पूर्ण मानवचोलालाई ज्ञानकुञ्ज प्रस्तुत गरे। चार आर्य सत्य भन्नाले, संसारमा दु:ख छ, दु:खका कारण छन्, दु:खको अन्त्य सम्भव छ र दु:खको अन्त्यका उपायहरु छन्।
यसैगरी आठ ज्ञानमार्ग भन्नाले सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृती र सम्यक् समाधी हुन्। यी सबै ज्ञानका तत्वहरु भगवान बुद्धको देन हो तर मानिसले यी सबै तत्वहरुको प्रयोग केवल जयन्ती मनाउने, सार्वजनिक विदा दिने कुरामा सिमित छ।
यसलाई यत्तिमा सिमित राख्दा बुद्धलाई एक सम्प्रदायमा कुँज्याइएको छ जसले गर्दा बोल्नमा मात्र शान्तिका अग्रदुत, व्यवहारमा अनेक किसिमका तुच्छता प्रस्तुत गर्ने। त्यसो भए कसरी प्रयोग गर्ने अहिलेको परिप्रेक्ष्यमा।
सबैभन्दा पहिले मानिसले भगवान बुद्धका ४ आर्य सत्य स्वीकार्नु पर्यो। मानिस यो धरतीमा जन्मेको भनेकै भोग्नका लागि, त्यो पनि दु:ख, पीडा। यहि सत्य हो तर दु:खका माध्यम वा तरिका फरक छन् जो पनि सत्य हो। तसर्थ मानिसलाई दु:ख अवश्य आउँछ जीवनमा जसको कारण पनि अवश्य हुन्छ। कारण तिमिले दु:खलाई बुझ्न, सम्झन नसक्नु हो। निवारणको कुरा त छँदैछ पहिलो उपाय भनेको दु:ख सम्झनु र बुझ्नु हो। यती बुझेपछी कारण र निवारण खोज्नु पर्यो। कोहि दु:ख व्यक्तिगत कारणले आउन सक्छन् त कोहि अरुका कारणले। आफ्नो माध्यमबाट आएका दु:ख सम्हाल्न सकिन्छ तर अरु माध्यमबाट आउने दु:खको सामना गर्न गार्हो पर्छ। तर निवारण नहुने भन्ने चाहिँ होइन। अरुले दिएको दु:खलाई स्वीकार्न सिक्नुपर्यो र आफूलाई अन्तरमा खोज्नु पर्यो।
आफ्नो आत्मा र शरीरलाई फरक फरक तरिकाले बुझ्न, झाँक्न सिक्नुपर्यो। आत्माले गर्ने अन्तरयात्राको साक्षी बन्न सिक्नुपर्यो अनि मात्र आधाआधी समस्याको समाधान हुन्छ, मार्ग प्रशस्त हुन्छ।
यी बौद्धले प्रस्तुत गरेका मार्ग हुन् जसले मानिसको जीवनमा दु:खमा पनि खुशी र सुखी हुन सिकाउँछ। मानिस कस्तो हुनुपर्छ? भनेर प्रश्न गर्ने हो भने यसको आध्यात्मिक उत्तर नै मानिस, मानिस जस्तो हुनुपर्छ भन्ने हुन्छ। त्यसपछी मानिस हुन चाहिँ केके आवश्यक हुन्छ? भनेर प्रश्न उठ्छ। यही प्रश्नको उत्तर हो भगवान बुद्धका आठ ज्ञानमार्ग। सम्यक् दृष्टि, सृजनाकारले हाम्रो अनुहारमा आँखा प्रदान गरेको छ तीनओटा, यो सत्य हो। दुइटा आँखा दुनियाँका लागि हो भने एउटा आँखा चाहिँ आफ्नालागी। दुइटा आँखाले हेर्न नसकेको कुरा तेस्रो आँखाले हेर्न सकिन्छ। यसको प्रमाण खोज्ने हो भने हामीले आँखा नभएका मान्छेलाई हेर्न सकिन्छ। कस्तो चेत हुन्छ? कति क्षमता हुन्छ? यदि हामीले चेतपूर्ण दृष्टि राख्ने वा सम्यक् दृष्टि राख्ने हो भने तेस्रो आँखाले देख्ने संसार बुझ्ने प्रयास गर्नुपर्दछ।
असल कुरा देख्न, बुझ्न सम्यक् सङ्कल्प चाहिन्छ। यात्रालाई दिशा दिन अर्थात् मार्ग प्रशस्त गर्न सम्यक् दृष्टि भएका तथ्यहरुप्रती सङ्कल्पित हुनुपर्ने हुन्छ। सङ्कल्पित भईसकेपछी त्यसलाई गन्तव्यमा पुर्याउन सम्यक् वचन चाहिन्छ। सम्यक् वचनले मार्गलाई सहज बनाउँछ जसले गर्दा मानवत्त्व धारण गर्ने यात्रामा सफल बन्न सकिन्छ। बोल्ने कुरामा सत्यता छ, सत् वचन छ भने कर्मलाई सत् बनाउन सकिन्छ। असल कर्मले जीवनलाई सङ्कट बाट पार लगाउँछ। त्यसैगरी सम्यक् व्यायाम, सम्यक् स्मृती र सम्यक् समाधी अपनाउनुपर्छ। जीवनलाई जन्मदेखि मृत्युपर्यन्त सुसज्जित बनाउने हो भने बुद्धको मार्गमा मानिसले लाग्नुपर्ने अनिवार्यता देखिन्छ।
बुद्धको सम्पूर्ण जीवन मानव जातीको उत्थान, कल्याण र भलाईमा निहित थियो। उनले गरेका अनेकन प्रयासले मानिसलाई सुमार्गमा प्रेणित गर्दछ। उनका प्रत्येक कथनहरुले एक सिद्धान्त प्रतिपादन गरेका छन्, जिवनयापनको। मानिसले उनको जीवनको सम्पूर्ण यात्रा मात्रै सम्झने वा बुझ्ने प्रयास गर्ने हो भने जीवन सम्पूर्ण र ओजपूर्ण रहनेमा कुनै शंका छैन। त्यसैले बौद्ध मार्ग अपनाउने कोसिस गरौं, मन, वचन र कर्म सम्यक् बनुन्, ज्ञानीका अघाडि सदा श्रद्धापूर्ण शिर झुकोस्। जय होस्!