शान्ति प्रसाद जोशी धनगढी - नेपालीहरूको महान चाड विजया दशमी तथा तिहार नजिक आएसँगै नेपालका सिमाना नजिक रहेका नेपालीहरू किनमेल गर्नका लागि भारत जाने क्रम बढ्दो रहेको छ। दशैं तथा तिहार नजिक आएसँगै नेपालीहरूको सिमा नाका नजिक रहेको प्रमुख बजार गौरीफन्टा र वनगाउँमा किनमेल गर्नेको घुइँचो लाग्न थालेको छ ।
भारतीय बजारमा सामान किन्ने भीड लाग्ने गरेको र नेपाली बजारमा भने खडेरी लागे जस्तै भएको नेपाली थोक तथा खुद्रा विक्रेताको भनाइ रहेको छ । भारतीय बजारमा केही सामानहरूमा सहुलियत रहेकै कारण पनि नेपालीहरूको प्रमुख बजारकै रूपमा सीमावर्ती बजार भारत पर्न थालेको हो। नुन तेल चामल तथा तरकारीहरूनै भए पनि नेपालको मूल्यको तुलनामा भारतमा सस्तो पाइने हुनाले आफूहरू प्रत्येक हप्ता सीमावर्ती बजार बनगाउँ पुग्ने गरेको एक नेपाली महिलाले बताइन्। भारतमा विभिन्न सामानहरूको मूल्य नेपालको तुलनामा सस्तो रहेको र केही पैसा जोगाउनकै लागि भएपनि सिमावर्ती बजार जाने गरेको उनले बताइन्।
सीमावर्ती बजारमा खुट्टा छिराउन ठाउँ नहुँदा नेपाली बजार भने सुनसान
उता सीमावर्ती बजारमा दशैँ तिहार नजिकिएसँगै किनमेल गर्नेको घुइँचो लागेको छ। सीमावर्ती बजारमा व्यापारीहरूलाई सामान पुर्याउन नै धौधौ भएको छ। सीमावर्ती बजारका व्यापारीहरू नेपालीबाट दैनिक जसो लाखौं रुपैयाँको कारोबार गरिरहेका छन्। तर नेपाली बजार भने अहिले सुनसान जस्तै देखिएको छ नेपाली बजारमा पनि व्यापारीहरूले पसल त थापेका छन्, राम्रै झकीझकाउ बनेको छ नेपाली बजार तर फ्याट्टफुट्ट रूपमा मात्रै कारोबार हुने गरेको नेपाली व्यवसायीको दुखेसो रहेको छ ।
भारतमा केही मात्रामा सामान सस्तो पाइन्छ तर हामीले नेपालमा सामान पुर्याउँदा भन्सार र विभिन्न कर तिर्नुपर्दा त्यही समान नेपालमा महँगो हुन जान्छ। त्यो महँगो सामानलाई आफ्नो परेकै मूल्य अनुसार बेच्दा पनि सिमावर्ती बजारको सरह नहुने हुँदा र खुला सिमानाका कारण नेपाली बजारमा सोचेको कारोबार हुन नसकेको एक व्यवसायीको भनाइ रहेको छ। आफूले मोटो रकम लगानी गरी सामान खरिद गरी पसलमा राखेको र ग्राहकहरू फ्याट्टफुट्ट मात्रामा मात्रै आउने गर्दा सामान बिक्री नहुने हो कि भन्ने चिन्ता रहेको र यस्तो अवस्थामा खुलेर लगानी समेत गर्न सक्ने अवस्था नरहेको उनको भनाई रहेको छ।
सीमावर्ती बजारमा सामान केही मात्रामा त सस्तो गरेको पाइन्छ। तर धेरै सामानहरु गुणस्तरहीन र मिलावट गरेका सामानहरू सीमावर्ती बजारबाट बिक्री हुँदै गरेको समेत पाइने गरेको छ । त्यसैमा नेपाल सरकारले १ सय रुपैयाँभन्दा बढीको सामान बिना भन्सार ल्याउन नदिने कानुन ल्याएसँगै उताबाट सामान ल्याइसकेपछि भन्सारमा सामान नै समेत बरामद हुने गरेका घटना पनि धेरै मात्रामा रहेका छन्।