काठमाडौं । काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको खुलेको छ । एक उच्च प्रहरी अधिकारीले प्रसाईं भारत पुगेको बताए । यही चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौं छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए । राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका हुन् ।
प्रदर्शनक्रममा दर्जनौँ सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी र भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरिएको थियो । प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएका प्रहरीको भनाइ छ । शुक्रबार ९चैत १५० राति नै उनी काठमाडौं छाडेर भारततर्फ लागेको प्रहरी जनाएको छ ।
प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका थिए । त्यहाँ फलफूल खाएर सोही राति उनी ललितपुरको फर्सीडोल हुँदै चितवनको ठोरी रुटबाट भारत गएको प्रहरी दाबी छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बाह्रखरीसित भने, ‘‘प्रसाईं ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको ठोरी पुगेर भारत पसेको देखिन्छ ।’’ उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको प्रहरीले जनाएको छ ।
प्रसाईं भारत पुगेको भए त्यहाँबाट पक्राउ गरेर नेपाल ल्याइहाल्न सहज छैन । प्र्रसाईंलाई पक्राउ गर्नेबारेको निर्देशन शुक्रबार अबेर आउँदा उनी प्रहरीको पन्जाबाट फुत्कन सफल भएका हुन् । उनी भागे पनि प्रहरीले प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टी महामन्त्री एवं सांसद धवलशमशेर जबरालाई सोही राति पक्राउ गरेको थियो । मिश्र र जबरासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित र उपद्रव कसुरमा मुद्दा चलाइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ । उनीहरूसँगै पक्राउ परेका अरू ४१ जनालाई पनि थुनामा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको अनुमति दिएको छ ।