धनगढी – चुरे गाउँपालिकाको पालिका स्तरीय कक्षा आठको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार परीक्षामा सहभागीमध्ये जम्मा २७ दशमलव ६० प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।
गाउँपालिकाभरका ४७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये १३० जना मात्र उत्तीर्ण भएका छन्। यस मध्ये शुक्र माध्यमिक विद्यालय, खानीडाँडाबाट सबैभन्दा बढी २१ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने , शिव माध्यमिक विद्यालय, किम्तोला र भानु माध्यमिक विद्यालय, चित्रपुरका पनि समान रूपमा १७र१७ जना विद्यार्थी पास भएका छन्।
तर, केही विद्यालयको नतिजा भने अत्यन्तै निराशाजनक रहेको छ। जनता आधारभूत विद्यालय, सल्लेकाँडा, बस्नेत आधारभूत विद्यालय गर्भा र श्री सिद्ध आधारभूत विद्यालय, गोगनपानीका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्। ती विद्यालयको नतिजा शून्य प्रतिशत रहेको छ।
स्थानीय तहमा शिक्षा गुणस्तर सुधारका लागि प्रयास भइरहेको दाबी गरिए पनि पछिल्लो नतिजाले व्यवस्थापन, अध्यापन पद्धति र विद्यार्थीको तयारीमा पुनर्विचार गर्नुपर्ने देखिएको छ।