सफलता र असफलता, आस्था र शंका लगायत यस्ता धेरै चिजहरुको मिश्रण हुन्छ भएको जीवन एक यात्रा हो जसमा कहिले जीवन सुगम र सरल लाग्छ, त कहिले समस्या र चुनौतीहरूको भारी बोझले दबिएको अनुभव हुन्छ ।
जीवनका उतारचढावले नै हामीलाई जीवनका गहिरा अर्थ र अनुभवहरूका पाठ सिकाउँदछन् । जीवनका उतारचढाव केवल कठिनाइ मात्र होइन, यो हाम्रा सिकाइका अवसर पनि हुन् । जब हामी कठिनाइमा पर्छौं, तब हामी आफूलाई बुझ्न र परिर्वतन गर्नको लागि थप अवसर पाउँछौं । जीवनका ती दुखका घडीहरू हाम्रो सामर्थ्यलाई उजागर गर्दछन भने यी उतारचढावले नै हामीलाई परिपक्व बनाउँछन् र हाम्रो वास्तविक क्षमता र स्वभावलाई बाहिर ल्याउँछन् । जीवनको उतारचढाव हाम्रो सोच, दृष्टिकोण, र प्रयासहरूको फल हुन सक्दछ । जब हामी उचाइमा पुग्दछौ, त्यस समयमा हामीलाई खुशी र गर्वको अनुभूति हुन्छ, तर जब हामी तल गइरहेका हुन्छौं, तब त्यही समस्या र असफलताहरूलाई चुनौतीको रूपमा देखेर अघि बढ्न सकिन्छ।
जीवनका यी उतारचढावहरूले हाम्रो धैर्यता, साहस र आत्मविश्वासलाई परिक्षा गर्छन् । हामीले कुनै पनि उतारचढावको समयमा सकारात्मक सोच राख्न जरुरी छ । यो विचारले हाम्रो मानसिकता परिवर्तन गर्न सक्छ र हामीलाई समस्या समाधान गर्न उत्साहित गर्छ । सानो समस्यामा पनि ठूलो अवसर लुकेको हुन्छ । कहिलेकाहीं हामीलाई सोच्न गाह्रो लाग्न सक्छ, तर यदि हामी साहस र धैर्यका साथ अगाडि बढ्ने हो भने, हाम्रा चुनौतीहरू हामीलाई बलियो बनाउँछन् ।उतारचढावलाई सही ढंगले सामना गर्नको लागि लक्ष्यप्रति प्रतिवद्धता पनि महत्त्वपूर्ण छ ।
जब हामीलाई थाहा हुन्छ कि हाम्रो उद्देश्य के हो र हामी कत्तिको प्रगति गर्दैछौं, तब जीवनका कठिन समयहरूले पनि हाम्रो ध्यान विचलित गर्न सक्दैन । लक्ष्यमा केन्द्रित रहनु र हरेक परिस्थितिमा अग्रसर रहनु आवश्यक छ । अन्ततः, जीवनको उतारचढावहरू जीवनको यात्रा र अनुभूतिहरूलाई अझ गहिरो र अर्थपूर्ण बनाउँदछन् । यो जीवनको प्रक्रिया हो कहिले खुशीका पंख, त कहिले चुनौतीका पथमा यात्रा गर्दै हरेक पलको अनुभव नै जीवनको साँचो अर्थ हो।
जयन्त भाट बैतडी