तपश्वी रामबहादुर बम्जन बाल यौन दुराचार कसूरमा दोषी ठहर

काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले बताए । उनले भने, ‘अब १७ असारमा सजाय निर्धारण हुनेछ ।’ रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन् ।

ज्ञानकुमार र जितबहादुरलाई मतियारको रुपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो । बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।

उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो । महिला अधिकारकर्मीको सहयोगमा ३० भदौ २०७६ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । त्यसपछि प्रहरी कहाँ पनि यो विषयमा उजुरी परेको थियो । प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको हुनसक्ने आशंकामा छ । तर, प्रहरीले प्रमाण फेला पार्न सकेन । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो । बम्जन जोडिएको अरु मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ad_wide