धनगढी - कैलाली बहुमुखी क्याम्पसले स्नातक तहको वाणिज्य व्यवस्थापन संकायमा त्रिभुवन विश्वविद्यालय टप गर्न सफल धरणीधर भट्टलाई सम्मान गरेको छ।
स्नातक तहको वाणिज्य व्यवस्थापन संकायमा त्रिभुवन विश्वविद्यालय टप गरेका भट्टलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो ।
कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सभावती रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का प्रमुख अतिथी रहेका थिए । त्यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेश शभा सदस्य तथा पुर्व वन तथा वातावरण मा. रमेश धामी र कैलाली बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख सुरेन्द्र चन्द बिशिष्ट अतिथि रहेका थिए । साथै कार्यक्रमा नागरिक समाजका अगुवा, धरणीधर भट्टका अभिभावक कैलाली बहुमुखी क्याम्पसमा अध्यापनरत शिक्षक प्राध्यापक र बिध्यार्थी हरुको उपस्थिति रहेको थियो ।
भट्टले पहिलो सेमेस्टरमा ३.८८ जिपिए ल्याएका थिए भने, दोस्रो सेमेस्टरमा ३.९६, तेस्रो सेमेस्टरमा ३.९८, चौथो सेमेस्टरमा ३.९९, पाँचौ सेमेस्टरमा ३.९४, छैटौँ सेमेस्टरमा ३.९६, सातौँ सेमेस्टरमा ३.८९ तथा आठौँ सेमेस्टरमा ३.९८ जिपिए ल्याउदै ओैसत ३.९५ जिपिए ल्याई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा प्रथम भएर क्याम्पसको गरिमालाई झन् उचाइमा पुगाएका हुनाले आज सम्मान कार्यक्रमको आयोजना गरेको क्याम्पसले जनाएको छ ।
भट्टले पाएको यो सम्मान सँगै उच्च शिक्षा एमबिए कैलाली बहुमुखी क्याम्पसबाट अध्ययन गरे पढाईमा लाग्ने सम्पुर्ण सेवा सुविधा सहित निःशुल्क अध्ययनको व्यवस्था गरिने कैलालली बहुमुखी क्याम्पसका एमबिए , एमबिएस विभागीय प्रमुख तथा प्राध्यापक सङ्घका सभापति डा.शिवप्रसाद सापकोटाले प्रतिबद्धता गरेका छन्।
कार्यक्रममा बोल्दै टपर भट्टले सानै देखी आफु नियमित पढ्ने र पढेको कुरा अभ्यास गर्ने गरेकाले परिक्षामा राम्रो नतिजा आएको बताएका छन् । साथै उनले आफ्नो सफलताको श्रेय काका काकी, आमाबुवा, क्याम्पसका अध्यापक र कैलाली बहुमुखी क्याम्पस भएको र यो सम्मान पनि आमा बुवा र कैलाली बहुमुखी क्याम्पसको रहेको जाहेर गरेका छन ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा माननीय रमेश सिंह धामीले टियु टपर विद्यार्थी भट्टलाई बधाई दिँदै आफूले पनि कैलाली बहुमुखी क्याम्पसमै अध्ययन गरेको र कैलाली बहुमुखी क्याम्पसले विभिन्न समयमा विश्वविद्यालय मा उत्कृष्ट नतिजा ल्याउँदै आएको र अहिले आएर धरणीधरले पाएको यो उपाधिले क्याम्पसलाई अझ उचाइमा पुर्याएको व्यक्त गरेका छन्। उनले भट्टलाई बधाई दिँदै आगामी भविष्यको समेत शुभकामना दिएका हुन्।
मेधाबी विद्यार्थी धरणीधर भट्टले कैलाली बहुमुख क्याम्पसको गरिमा उचाईमा पुर्याउन थप एक इटा थपेको जनाउदै भट्ट कैलाली बहुमुख क्याम्पसको सान र पहिचान भएकाले आगामी दिनमा पनि थप हौसला मिलोस् भनी सम्मान कार्यक्रम आयोजना गरिएको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक तथा क्याम्पस प्रमुख तोयराज भट्टले बताए।