धनगढी- कैलालीको धनगढीबाट प्रसारणमा रहेको दिनेश एफएममा कार्यरत कैलाश थापाको सवारी दुर्घटनामा निधन भएको छ। एफएमको बजार व्यवस्थापन शाखामा कार्यरत थापाको शनिवार राति सवारी दुर्घटनामा निधन भएको हो। उनी २ वर्षदेखि एफएमको बजार व्यवस्थापन शाखामा काम गर्दै आएका थिए।
शनिवार राति १ बजेर १० मिनेटमा गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक उनी सवार से ५ प ५८२७ नम्बरको मोटरसाइकल रोकिएको ट्रकमा ठोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २९ वर्षीय थापाले चलाएको मोटरसाइकल बझाङको बिच्थडचिर गाउँपालिका–२ का २४ वर्षीय भरत बोहराले चलाउने ना ४ ख ९६३ नम्बरको रोकिएको ट्रकमा ठोकिएको प्रहरीले बताएको छ। उनीहरु धनगढीबाट अत्तरियातिर जाँदै थिए। प्रहरीले सेती प्रादेशिक अस्पतालमा पु¥याएका थापाको २ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलको पछाडी सवार धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २५ वर्षीय भुपेश पाल घाइते भएका छन्। उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुँदै गरेको पारिवारिक स्रोतले जनाएको छ। थापाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। कैलाशकी एक दिदी छन्।