धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दुन एकेडेमीले विद्यालयमा एक दिने आँखा शिविर गरेको छ ।
विद्यार्थीहरुको आँखा परिक्षण गरि दृष्टि क्षमता पहिचान गराउन आफनै विद्यालयको प्राङ्गणमा शिविर गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र अधिकारीको अध्यक्षतामा भएको शिविरको ज्येष्ठ नागरिक हरिहर पौडेलले समुदघाटन गरेका थिए ।
शिविरमा सहभागि भएका तीन सय ७१ जना विद्यार्थीमध्ये २२ जनाको आँखामा समस्या देखिएको विद्यालयका प्राधानाध्यापक आरपी अधिकारीले जानकारी दिए ।
उनले भने –‘आँखामा समस्या देखिएका विद्यार्थीहरुलाई बुद्ध आँखा अस्पतालमा चेकजाँच गराउने र आवश्यकता अनुसारको उपचार गराइने छ ।’
उनले विद्यार्थीको आँखाको दृष्टिलाई ध्यानमा राख्दै शिविर गरेको बताए । पछिल्लो समय आँखामा समस्या आउँदा विद्यार्थीहरुको दृष्टि न्यून हुने, चश्मा लगाउनुपर्ने तथा उपचार गराउनुपर्ने लगायतको अवस्था रहेको छ । सोही कुरालाई ध्यानमा राखेर विद्यालयले शिविर गरेको बताउँदै ‘विद्यालयले शूल्क लिनेमात्र नभई उनीहरुको स्वास्थ्यमा पनि हामी जोड दिने गरेका छौं । यसका साथै विद्यालयले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरुको क्षमता पहिचान गर्ने कार्य पनि गर्दै आएको छ ।’
शिविरमा गेटा आँखा अस्पताल मातहात रहेको आँखा उपचार केन्द्र बुद्धमार्गका अप्टोमेट्री सहायक सुरज बलदार र सोही केन्द्रमा कार्यरत लौटी चौधरी खटिएका थिए ।