बुधबार, जेष्ठ १, २०८२

दुर्गा भवानी टुर एण्ड ट्राभल्सको बदमासी – यात्रु अल्पत्र पार्ने टुर एण्ड ट्राभल्सलाई भएन कारबाही, जाहेरी नआएको भन्दै संरक्षण गर्दै प्रहरी

शेरबहादुर ऐर
धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको श्री दुर्गा भवानी टुर एण्ड ट्राभल्सले यात्रु अल्पत्र पार्दासमेत सुरक्षा निकायहरुले कुनै कारबाही अघि बढाउन सकेको छैन । प्रहरीले जाहेरी नआएको भन्दै सो टुर एण्ड ट्राभल्सलाई कारबाहीको दायरामा ल्याउनबाट पन्छिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहराले टुर एण्ड ट्राभल्सले यात्रु अल्पत्रत्र पारेकोबारे आफुहरुलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने –‘हामीमा टुर एण्ड ट्राभल्सले यात्रु अल्पत्र पारेकोबारे जानकारी आएको छैन । त्यही पनि म बुझछु ।’

शनिबार धनगढीबाट बैंग्लोर पुगाइदिने भन्दै बस भाडा असुल गरेर भारतको उत्तर प्रदेशस्थित पलियाबाट केही दुरीमा रहेका जंगल छेउमा रहेको क्यान्टिनमा यात्रुहरुलाई अल्पत्र पारेको थियो । यात्रुहरुलाई त्यही छोडेर सञ्चालक र बस चालक सम्पर्कविहिन बनेका थिए । आइतबार अल्पत्र परेका यात्रुहरु बैंग्लौर नगई बस भाडामा लिई धनगढी फर्केका थिए । उनीहरुले सो टुर एण्ड ट्राभल्सको कार्यालय घेराउ गर्दै आफनो बस भाडा फिर्ता हुनुपर्ने र पलियाबाट धनगढी आउँदाको खर्चसहित गाँसको रकम पनि दिनुपर्ने माग गरेका थिए ।
प्रहरी सो टुर एण्ड ट्राभल्समा पुगेपनि अहिले प्रहरीका प्रवक्तासमेत रहेका बोहराले जानकारी नभएको भन्दै सो टुर एण्ड ट्राभल्सको संरक्षण गरेका छन ।
प्रहरीको सम्पर्कमा नरहेको सो टुर एण्ड ट्राभल्सले सोमबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै आफनो बचाउ गरेको छ । सो टुर एण्ड ट्राभल्सले धनगढीदेखि बैंग्लौर तथा भारतका विभिन्न स्थानमा गुडने बसहरुले ट्राफिक नियमविपरित काम गर्दै आएको आरोप लगाएको छ ।

‘केही महिना अघिमात्र स्थापना भएको दुर्गा भवानी ट्राभल्स ले छोटो समयमा राम्रो सेवा र यात्रुहरूको विश्वास जित्न सफल भएको कुराले आज धेरैलाई असजिलो महसुस भएको देखिन्छ । हाल देखिएअनुसार, समितिका केही सदस्यहरू हाम्रो ट्राभल्सलाई बदनाम गराउने उद्देश्यले विभिन्न गतिविधिहरूमा सक्रिय देखिएका छन्’ ट्राभल्सले भनेको छ –‘कहिले प्रहरी प्रशासन र आर.टि.ओ मार्फत गाडी समात्ने प्रयास, कहिले मिडियाका साथीहरूलाई पैसा दिएर हाम्रो गाडीमा आफ्नै समितिका मानिसहरू प्यासेन्जर बनाएर झूठा आरोप लगाउने जस्ता गतिविधि हुँदै आएका छन् ।’
ट्राभल्सले आफुले यात्रु अल्पत्र पारेको विषयलाई पत्रकार, विभिन्न बस समितिलाई दोष देखाएर पन्छिएको छ । विज्ञप्तीमा भनिएको छ –‘यो अवस्था देखेर हामीलाई दुःख लागेको छ । यदि तपाईंहरूको मार्केट यति कमजोर भएको हो भने हामीप्रति अनावश्यक षड्यन्त्र नगर्नुहोस् । तपाईंहरू (विभिन्न बस समितिहरु)ले चार हजार रुपैयाँसम्म भाडा उठाउँदा हामीले केवल दुई हजार पाँच सय रुपैयाँमा यात्रुहरुलाई सुरक्षित सेवा दिन थालेका थियौं । त्यसैले हामीलाई किनबेच गर्ने अनेक प्रयास गरियो, तर स्पष्ट पार्न चाहन्छौंः हामी बिक्रीका लागि होइन, सस्तो र राम्रो सेवा दिने लक्ष्यका लागि आएका हौं ।’

ट्राभल्सले आफुले यात्रुबाट दुई हजार पाँच सय रुपैयाँ लिने गरेकोबारे पनि गलत देखिन्छ । हामीले पलियामा अल्पत्र परेका यात्रुहरुसंग टिकट मागेर हेर्दा कसैसंग तीन हजार एक सय त कसैसंग तीन हजार दुई सयका दरले भाडा असुल गरेको पाइएको थियो ।
सो टुर एण्ड ट्राभल्सले आफुलाई बचाउन अन्य वस समितिमा गम्भिर आरोप लगाएको छ । भनिएको छ –‘आज हाम्रो गाडीलाई प्रहरीले समात्ने, यात्रुहरूलाई समस्या पार्ने, मिडियामार्फत झूठा प्रचार गराउने सबै कार्यहरू योजनाबद्ध ढंगले गरिएका छन् । जबकि, तपाईंहरू पनि एउटै गाडीमा ७०–९० यात्रु कोचेर लैजानुहुन्छ भन्ने प्रमाण र भिडियोहरू हामीसँग सुरक्षित छन् । कानून अनुसार ३६ जना भन्दा बढी यात्रु बोक्न पाइँदैन, तर तपाईंहरू आफैं उल्लंघन गर्दै आउनुभएको छ । हाम्रो रेडी गाडी रोकिएपछि पनि, बुकिङ भएका यात्रुहरूलाई हामीले खाना खुवाएर सुरक्षित ढंगले व्यवस्थापन ग¥यौं । हामी यात्रुहरूको सुविधामा सधैँ प्रतिबद्ध छौं ।’

तर, अल्पत्र यात्रुहरुले राती र विहानसम्म खानाको व्यवस्थापन टुर एण्ड ट्राभल्सले नगरेको प्रतिक्रिया दिएका थिए । सो टुर एण्ड ट्राभल्सले आफुहरुबाट पनि कमजोरी भएको स्विकार गर्दै –‘हामी स्वीकार गर्छौं, केही कमजोरी हामीबाट पनि हुन सक्छ, तर यात्रुहरूलाई कम भाडामा सुविधा दिने प्रयासलाई गलत नियतले हेर्नु कदापि उचित छैन ।’
शनिबार साँझ बझाङका विनोद जफेलले शनिबारको रात परिवारसहित पलिया सडकमा बसेको बताए ।उनले भने–‘हामीले टिकटबराबरको मूल्य, अल्पत्र पार्दा भएको खर्चसहितको पैसा यो टुर एण्ड ट्राभल्सले दिनुपर्छ ।’ उनले ३१ सयका दरले चार जनाको टिकट १२ हजार चार सय खर्च गरेका थिए ।
बझाङका रुपेश भण्डारीले दुर्गा भवानी र गायत्री टुर एण्ड ट्राभल्सले टिकट काटेर गन्तव्यमा पुगाउँने बताएपनि पैसा लिएपछि पलियाको जंगलमा एकान्तमा झण्डै ७९ जना यात्रुहरुलाई अल्पत्र पारेको बताए । उनले भने –‘साँझ ७ बजे गौरिफण्टाबाट लग्यो । राति ९ बजे पलियाबाट १५ किलोमिटर अगाडि जंगलमा नाममात्रकै ढाँवा नजिक रोक्यो । शुरुमा आधा घण्टा ढिलो हुन्छ भन्यो । त्यसपछि एक घण्टा भन्यो । फेरी दुई घण्टा कुर्नुपर्ने भन्यो । हामीले ठिक छ भन्यौं । रातिको ११ बज्यो । त्यसपछि पाँच मिनेट पर्खन भन्यो । हामीहरु आउँछु भन्यो । त्यसपछि सम्पर्कविहिन बन्यो । अहिले फोन गर्दा फोन नम्बर पनि कालोसूचिमा राखेको छ ।’

धनगढीदेखि बैंग्लौर जाने क्रममा सवारी साधनले पलियामा यात्रुलाई अल्पत्र छोड्ने गरेका छन । तर, जिल्ला प्रहरी कार्यालयले न त सञ्चालकलाई कारबाही गर्छ न त प्रशासनले अनुमतिबेगर चलेका टुर एण्ड ट्राभल्सको अनुगमन तथा नियमनमा ध्यान दिएको छ ।


कहिले बस व्यवसायी समितिको लापरबाही त कहिले टुर एण्ड ट्राभल्सको लापरबाहीले पनि नेपाली बस सेवा सञ्चालन गरेका कम्पनिहरुबाट नेपालीहरुनै दुःख पाउने गरेका छन । भारतीय बसमा यात्रा गर्दा जोखिम मान्ने नेपालीहरु पछिल्लो समय नेपालीहरुबाट ठगी र सास्ती पाउनुपर्ने अवस्था रहेको छ । धनगढीमा भारतका विभिन्न स्थान मथुरा, हरिद्धार, जयपुर, भीलवाडा, नायद्धार, उदयपुर, खाटुश्याम, इन्दौर, झाँसी, अहमदावाद, गौरीफण्टा, पलिया, तिकुनिया, निघासन, बालाजी, सुरज, उज्जैन, वनारस, लखनउ, गोरखपुर आदि स्थानमा पुगाउने भन्दै टुर एण्ड ट्राभल्सहरु खोलिएका छन । तर, ती टुर एण्ड ट्राभल्ससंग आफनो गाडि राख्दैनन । भाडामा लिएर नेपाली बोक्दा उनीहरुले अलपत्र पार्ने गरेका छन । ती ट्राभल्सहरुले न त वडाबाट सिफारिस लिएको हुन्छ । न त प्रशासनलाई जानकारी गराउने गर्छ । न त तिनिहरुले व्यवसायी कर तिरेका हुन्छन । यसरी टुर एण्ड ट्राभल्सको लापरबाही बढ्दै गएपनि सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय, प्रहरीले यो विषयमा चासो दिन सकेको छैन ।

ad_wide