धनगढी — धनगढी उपमहानगरपालिकाले २०८१/८२ को लागि २ अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेट उपप्रमुख कन्दकला रानाले नगरसभाको एघारौं अधिवेशनमा प्रस्तुत गरिन् । उपप्रमुख रानाद्वारा प्रस्तुत अनुमानित बजेटमा कुल खर्च चालुतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार १ सय १७ छुट्टाइएको छ । पुँजीगत तर्फ ९८ करोड २६ लाख ८८ हजार एक सय दुई खर्च हुने अनुमान गरिएको छ ।
प्रस्तुत बजेटको आयतर्फ आन्तरिक आय ३६ करोड ६९ लाख ७६ हजार ०६५, राजश्व बाँडफाँटतर्फ ४८ करोड २९ लाख ५४ हजार ७ सय ८५, अन्तर सरकार वित्तीयतर्फ (संघ) एक अर्व एक करोड ८७ लाख ३६ हजार, अन्तर सरकार (प्रदेश ) आठ करोड २८ लाख २८ हजार रुपैयाँ अनुमान गरिएको छ भने उपमहानगरपालिकाको मौज्दात २३ करोड २३ लाख ४६ हजार सात सय ७० रहेको छ ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख रानाले खर्च तर्फको विषयगत योजना तथा कार्यक्रमगत विस्तृत विवरण नगरसभाबाट पारित भइसकेपछि सार्वजनिक गर्ने बताइन् । उनले वडाबाट सिफारिस भइ आएका थुप्रै योजना समावेश गर्न नसकिएको बताइन् । उनले भनिन् –‘महत्वपूर्ण योजनाहरु आगामी आर्थिक वर्षमा सम्बोधन गराउन पहल गरिने छ ।’