धनगढी – कैलालीको धनगढीमा अनुपमा कर्पोरेट लिग सिजन २ भेट्रान क्रिकेट कप २०८१ मंगलबारदेखि शुरु भएको छ ।
धनगढीको चन्द्रसूर्य खेल मैदानमा आयोजना भएको प्रतियोगिताको पूर्व भौतिक मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश देउवाले समुदघाटन गरे ।
सो अवसरमा बोल्दै उनले सबैले मनपराएको खेल क्रिकेट रहेको बताउँदै –‘अहिले क्रिकेटबाटै नेपाल अन्तराष्ट्रिय स्तरमा चिनिएको छ ।’
क्रिकेटको शहरका रुपमा धनगढी चिनिदै गएको बताउँदै उनले –‘केही पूर्वाधार निर्माण गर्नुपर्ने छ । फाप्ला क्रिकेट मैदानले अन्तराष्ट्रिय स्तरमा चिनाउन विशेष महत्व भुमिका निर्वाह गर्ने छ ।’ उनले आफनो व्यवसायीबाट केही रकम जुटाएर यस्तो प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।
अनुपमा बेकरीका सञ्चालक दिनेश पन्तको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी, प्रतियोगितामा सहभागि व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
मंगलबारदेखि शुरु भएको प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई दस हजार पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुवैले ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित खर्च ५ लाख ४० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।