धनगढीमा आउदो मंसिर देखि शनिबारे मेलाको आयोजना हुँदै

धनगढी - धनगढीमा आउदो मंसिर देखि शनिबारे मेलाको आयोजना हुने भएको छ । धनगढीको पार्कमोडमा शनिबारे मेलाको आयोजना हुने भएको हो ।

महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक शनिबार दिउसो १ बजेदेखि बेलुकी ६ बजेसम्म मेलाको आयोजना हुने धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले जानकारी दिएकी छन्।

मेलाका लागि ३५ वटा स्टल तयार हुन लागेका छन । खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत मेलामा गरिन लागेको उपमहानगरपालिका श्रोतले जनाएको छ ।

धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए । ‘धनगढी उपमहानगरपालिकाले विशेष गरेर महिलालाई लक्षित गरेर, महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित शनिबारे महिला उद्यम बजारको व्यवस्था गरिरहेको नगर प्रमुख हमालले बताए ।

महिलामात्र सहभातिग हुन पाउने मेलामा आफुले जानेका परम्परागत खानाहरू, सीपहरू, उत्पादन गरेका बस्तुको बिक्रीवितरण गर्ने, विभिन्न संघ÷संस्थाले दिएका तालिमबाट सीप पाएका महिला सहभागि हुन पाउने उनले जानकारी दिए ।

महिलाहरूले तयार पारेका अचार, ढकिया, माछा, पकौडी लगायत बस्तु बिक्री गर्न पाउनेछन् । व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई भने शनिबारको बजारमा स्थान दिइने छैन । घरमा बस्दै आएका र सीप भएका महिलाहरूलाई निःशुल्क अवसर दिने उपमहानगरले जनाएको छ ।

नगर प्रमुख हमालले महिलालाई उद्यमी बनाउने उद्देश्यले शनिबारे बजार सञ्चालनको तयारी गरेको बताए । यसका लागि परिचयपत्र बनाउनुपर्ने छ । अहिले धनगढीका महिलालाई प्राथमिकता दिने र विस्तारै अन्य पालिकाका महिलालाई पनि अवसर दिने नगरप्रमुख हमालले बताएका छन् ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM