धनगढीमा नियमविपरित कार्य: व्यक्तिको घरबार बचाउन पुलभन्दा सडक साँघुरो

शेरबहादुर ऐर/धनगढी– धनगढीको वडा नम्बर १ र ५ जोड्न सुकुटी नालामा पुल निर्माण गरिएको छ । चौडा पुलबाट वडा नम्बर १ हुदै ५ नम्बर वडामा जाँदा बनिरहेको सडक साँघुरो छ ।

धनगढी उपमहानगरपालिकाको भवन मापदण्ड २०७४ ले ‘पुराना वस्तीहरुमा रहेका ४ मीटर भन्दा कम चौडाई भएका बाटोहरुलाई सुधार गरी चौडा गर्ने क्रममा २० फिटसम्म चौडा गर्न नसकिएमा ४ मीटरसम्म चौडा गर्ने गरी प्लटको सिमानालाई सडकको केन्द्र रेखाबाट २ मीटर पर हटाई त्यस्तो प्रवेशको माध्यमको चौडाईलाई ४ मीटर बनाइने छ र स्थायी निर्माण कार्य गर्न उक्त सारिएको सिमानाबाट ५ फिट सेटब्याक छाड्नु पर्नेछ’ उल्लेख छ । तर, धनगढीले २०८० साल मंसिरमा जारी गरेको जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधिले सडकको चौडाई १० मिटर कायम गरेको छ ।

धनगढी उपमहानगरपालिकाले व्यक्तिको जग्गा बचाउन गरेको यो गिज्याउने नमुना विकासबाट धनगढी नगर प्रमुख गोपाल हमालको नियत प्रष्ट देखिन्छ । पहिले बाटो बन्छ कि पुल ? यसको सोझो उत्तर छ– ‘पहिले बाटो अनि पुल । त्यसो भए बाटो ठूलो हुन्छ कि पुल ? सहज जवाफ छ– सके दुईटै बराबर । नभए बाटो ठूलो । पुल सानो ।’

धनगढी उपमहानगरपालिका–१ पुरानो पौष्टिक आहार कार्यालयदेखि पुलसम्मको सडक पुल अनुसारकै बनाइएको छ । तर, वडा नम्बर ४ तारानगरको सडक चौडा गर्ने उपमहानगरपालिकाले सुरसार गरेको छैन् ।

त्यहाँ सडक आठ फिटको पनि छैन । पहिले एक पटकमा एउटा मोटरसाईकल पार हुने पक्की कल्भर्ट थियो । अहिले २० फिटभन्दा बढि चौडा पुल बनेको छ । त्यसमाथि बाटो एकातिर छ । पुल अर्कैतिर निर्माण गरिएको स्थानीयहरु बताउँछन ।

पुल तरेर सोझो पारी जादा व्यक्तिको जग्गामा पुगिन्छ । बांगो बाटोमा पुल भने सोझो निर्माण गरिएको छ । अझ पुल भन्दा त्यहाँ छेउको घर तल छ । यो पुल धनगढी उपमहानगरपालिकाको ईञ्जिनियरिङ र विकासको अद्भूत मोडेल जस्तै बनेको छ ।

बाटोको ठेगान छैन । पुल बनिसक्यो । पुल पारी औषधी व्यवसायी निरज थापाको घर छ । थापा नगर प्रमुख हमालका समर्थक हुन् । उनकै सुबिधाका लागि नगर प्रमुख हमालले यो पुलको निर्माण गराउनमा जोडतोड गरेका थिए । एक करोड ५८ लाख नौ हजार आठ सय ८२ लागतमा निर्माण गरिएको पुल २०८० साल मंसिर ८ गते सम्झौता भई यसै वर्ष पुस ३० गते सम्पन्न गर्ने गरि शाजेन्द्रश्वर–प्वाइन्ट जेभीले ठेक्का सम्झौता गरेको थियो ।

नगर प्रमुख हमालले धनगढीमा विकासका नाममा पहिले व्यक्तिका घरहरु भत्काए । र, निजी सम्पत्तीमाथि डोजर चलाए । तर आफ्ना समर्थकलाई जोगाउन कुनै कसर बाँकी नराखेका हमालले यहाँपनि आफ्ना कार्यकर्ता थापालाई पुल निर्माण गरेर मात्र नगरपालिकाको बजेट चढाएनन । उनको घरको सुरक्षाका लागि लाखौं रुपैया तटबन्धमा खर्च गरे ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका बासिन्दा मक्किएको काठे पुलमा तर्दै आएका छन् । बर्षायाममा खोलामा बाढी पस्दा आवातजावत बन्द हुन्छ । त्यहाँ भने पालिकाको ध्यान गएको छैन । पालिकाभित्रै त्यस्ता दर्जनौ टोल र वस्ती छन्, जहाँ अहिले पनि आवात जावत गर्न कल्भर्टसम्म छैन ।

तारानगरमा खोलाको अतिक्रमण हटाउने नाममा व्यक्तिको जमीन, जंगल र खोलामा डोजर चलाएका हमालले खोला अतिक्रमण पक्की घर र पर्खाल निर्माण गरेका आफ्ना समर्थक पदमराज भट्टलाई जोगाए । भट्टको घर क्षेत्रमा डोजर चलेन । त्यस्तै खोलामा निर्माण गरिएको थापाको घर र पर्खालमा चल्दै गरेको डोजर हमालको निर्देशनमा रोकियो । र, पछि तिनै थापाको घरको सुरक्षाका लागि हमालले तटबन्ध निर्माण गरिदिए ।

तारानगरमा दर्जनौ घरसंगै जोडिएको खोलामा चलेको डोजरले व्यक्तिका करेसा बारी र जंगलमा चल्यो । कतिपयका पक्की संरचनामाथि नगरपालिकाको डोजर चल्यो । तर आफ्ना कार्यकर्तालाई जोगाउने क्रममा केही अरु पनि जोगिए । जस्तो कि पालिकाको डोजर थापाको घरमा पुगेर रोकियो । थापालाई जोगाउदा नगर प्रमुख हमालको निशानामा रहेका रविनकान्त पन्तको घरसम्म डोजर नै पुगेन । पन्त भन्छन् –‘मेरो जग्गा खोलामा पर्छ भनेर बढीनै प्रचार गरियो पछि अमिन आएर नाँपजाँच गर्दा कुनै संरचना खोलामा थिएनन । जसकाकारण सुकुटी नालामा अतिक्रमण हटाउने कार्यले सुस्तता पायो ।’

उता पदमराज भट्टलाई जोगाउदा उनीसंगै पारी पट्टी खोला अतिक्रमण गरेको आरोप लागेका धु्रव जोशी पनि जोगिए । भट्ट र जोशीले खोला क्षेत्र मिचेर पक्की संरचना बनाएका छन् । बिगतमा यो विषयमा उनी संचालक रहेको सञ्चारमाध्यममा समाचार आइरहन्थे ।

चुनावमा आफूलाई भोट नदिने वा फरक मत राख्नेमाथि छानी छानी प्रतिशोध साँधिरहेका हमालले निर्बाचित भएको अढाई वर्षमा आफ्ना समर्थक र आफूलाई चुनावमा सहयोग गर्नेहरुलाई जोगाउन कुनै कसर बाँकी राखेका छैनन । र, अरुलाई भने उनले पलायन हुन बाध्य पारिरहेका छन् ।

पुल बनाउनु भन्दा पहिले सडक बन्नु पर्ने हो, तर धनगढी उपमहानगरपालिकामा कही नभएको विकास भयो, पुल त बन्यो, बाटोको ठेगान छैन । व्यक्तिको घर र सम्पत्तीमाथि डोजर चलाएर तारानगरको सत्कार चौकदेखि राष्ट्र बैंक पछाडिसम्मको सडक १४ मिटर चौडा बनाउने अडानमा रहेका नगर प्रमुख हमालले पुल निर्माण गरेको क्षेत्रको सडकलाई पुलभन्दा साँघुरो नै राखेर आफ्ना सहयोगी र समर्थकहरु जोगाउनेछन कि ? उनीहरुको घर भत्काउने छन्, त्यो भने हेर्न बाँकी छ ।

हमालको न्यूनतम मापदण्ड अनुसार १० मिटर (३३ फिट) चौडा सडक हुनुपर्नेछ । आफू र आफ्ना कार्यकर्ताको घर जोड्ने सडक १२ देखि २० फिट चौडा पनि हुनु नपर्ने । अरुको घर भत्काएर सडक चौडा गर्ने हमालको नियम नै छ ।

नगर प्रमुख हमाल समर्थक निरज थापाले आफनो संरचना खोलामा नपर्ने दाबी गरेका छन् । धनगढीले नै खोलाको चौडाई १० मिटर कायम गरेको छ । खोलामा पर्ने थुप्रैका जग्गा नम्बरी भइसकेका कारण आफनै नियम उपमहानगरपालिकाले लागु गर्न नसकेको उपमहानगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाही (गज्जु) ले भने –‘अमिन लगाएर खोलाभित्र रहेका संरचना नापजाँच गर्दा थुप्रैका जग्गा नम्बरी भइसकेको छ । त्यसकारण अहिले उपमहानगरपालिकाले थप नदि अतिक्रमण हुन नदिन चिन्ह राख्ने कार्य गरिरहेको छ ।’

ad_wide