मङ्लबार, बैशाख ९, २०८२

धनगढीमा नेपाल भारतका सुरक्षा निकायको बैठक सम्पन्न

धनगढी –कैलालीको धनगढीमा नेपार भारतका सुरक्षा निकायको बैठक सम्पन्न भएको छ । सोमबार सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को धनगढीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरमा समन्वयात्मक बैठक सम्पन्न भएको हो ।

बैठकमा सुरक्षाकर्मीबिच सीमाक्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको छ । त्यस्तै, दशगजा तथा सीमा अतिक्रमण हुन नदिने, सुरक्षा निकायबिच खबर आदानप्रदान गर्ने, सीमा इलाकामा संयुक्त गस्ती गर्ने सहमति भएको गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिए ।

अवैध रुपमा खोटा मुद्रा अपचलन, अवैध सामान ओसारपसार, अवैध हातहतियार ओसारपसार, अवैध लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने पनि दुवै देशका सुरक्षा अधिकारीबिच सहमति भएको छ । बैठकमा सीमामा हुने विदेशी घुसपैठ तथा अपराध रोकथाम लगायतका विषयमा छलफल भएको गणपति पाण्डेयले जानकारी दिए ।

त्यस्तै, दसैं, तिहार लगायतका चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीमाथि सीमा क्षेत्रमा लुटपाट हुन नदिन दुवै देशका सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ । चाडपर्व मनाउनका लागि भारतबाट फर्किने क्रममा धेरै नेपाली सीमा क्षेत्रमा लुटिने गरेका छन् ।

बैठकमा गणपति पाण्डेयसहित सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन न्यौपाने, पूर्णबहादुर चन्द, गान्धिवराज स्याङतान, भारतीय सशस्त्र सीमा बल नम्बर ३ बटालियन लखिमपुर खिरीका कमाण्डेट देवानन्दसहित, एसआई (जिडी), राजेन्द्र जाटको उपस्थिति थियो ।

ad_wide