शेरबहादुर ऐर
धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा युवा विवेक भट्टले प्लाष्टिक झोला उत्पादन गर्दै आइरहेका छन् । करोडौं लगानी गरेर उद्योगी बन्न खोजेका भट्टलाई अहिले प्लाष्टिकनै उत्पादन गर्नु अपराध जस्तै बनेको छ । धनगढीको बजारको मागलाई हेरेर उद्योग सञ्चालनमा ल्याएका भट्ट अहिले धनगढीको नीतिका कारण उद्योगनै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
२०७९ सालमा धनगढी नगर प्रमुखमा गोपाल हमाल निर्वाचित भएपछि उनले प्लाष्टिक झोलामा प्रतिवन्ध लगाउने कार्य गरे । विकल्पनै नदिई प्रतिवन्ध गर्दा धनगढीमै प्लाष्टिक झोला उत्पादन गर्ने उद्योगीहरु उनको निशानामा परे ।
शुरुवातमा १० जनालाई रोजगारी दिईरहेका भट्टले प्लाष्टिक झोलामा प्रतिबन्ध गरेपछि जनशक्ति पनि घटाएका छन् । २४ सैं घण्टा कामदारलाई व्यस्त राख्ने उनको उद्योग अहिले सिमित अवधिका लागिमात्र सञ्चालन भइरहेको छ । ‘अहिले पाँच जना कामदार छन् । धनगढी मुख्य बजारलाईनै हेरेर प्लाष्टिक झोला उत्पादन शुरु गरेको थिए । अहिले प्रतिबन्ध छ । पहाडमा हप्ता दिनमा मात्र माग आउँछ’ उनले भने –‘पहिला २४ सै घण्टा मेसिन व्यस्त हुन्थ्यो । तर, अहिले विहानदेखि साँझसम्ममात्र चलाइरहेको छु ।’
संघिय सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । यसका साथै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योग पाटपुर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पुँजिगत अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । तर, धनगढीले प्लाष्टिक झोला उत्पादनको गुणस्तरमा ध्यान नदिई प्रतिबन्ध लगाउँदा उद्योगलाई धरासयसंगै वेरोजगारी बढाउने कार्य गरेको उद्योगीहरु बताउँछन् ।
कैलालीमा प्लाष्टिक झोला उत्पादन गर्न पाँच वटा उद्योग सञ्चालनमा रहेका थिए । अहिले दुई वटा उद्योग बन्द भइसकेको छ भने तीन वटा उद्योग बन्द हुने अवस्थामा रहेको छ ।
उद्योगी भट्ट भन्छन् –‘अहिले पहाडमा प्लाष्टिक झोला ढुवानी गर्दा पनि प्रहरीले रोक्ने गरेको छ । प्रहरी र स्थानीय तहको व्यवहारदेख्दा कहिले काही लाग्छ हामीले प्लाष्टिक झोला उत्पादन गरेर ठुलै अपराध कि ?’
धनगढीले प्लाष्टिकजन्य बस्तुहरुको प्रयोगलाई नियमन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि उपप्रमुख कन्दकला रानाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । सो समितिले नगरभित्र प्रयोग हुने प्लाष्टिक झोलासंगै घर सजिसजावटमा प्रयोग हुने प्लाष्टिक नियन्त्रणमा लिने गरेको छ ।
भट्ट भन्छन् –‘निम्न स्तर र पुनः प्रयोगमा ल्याउन नसकिने प्लाष्टिकमा उपमहानगरपालिकाले प्रतिबन्धमा जोड दिनुपर्ने हुन्छ । तर, अहिलेसम्म त्यसतर्फ उपमहानगरपालिकाको ध्यान जान सकेको छैन् ।’
अनि खुल्यो नयाँ उद्योग
दानाको प्रयोगबाट प्लाष्टिक झोला उत्पादन गर्दै आइरहेका उद्योगीलाई विस्थापन गर्न उपमहानगरपालिकाले प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएपछि फाइबरको रेस्साबाट प्लाष्टिक झोला उत्पादन शुरु गरियो ।
‘म प्लाष्टिक झोला होइन’ लेखिएको सो झोला अहिले धनगढीमा निर्वाध रुपमा प्रयोगमा छ । तर, कतिको स्वस्थकर छ भन्नेमा धनगढीबासी अनविज्ञ छन भने उपमहानगरपालिकाले सोही झोलालाई प्रयोगमा ल्याउन जोड दिइरहेको छ ।
धनगढीको प्लाष्टिकजन्य बस्तु प्रतिबन्ध ऐनले –‘प्लाष्टिक झोला जो पुनः चक्रण गर्न नसकिने प्रकृतिका हुन्छन तिनीहरुको प्रयोगमा नगरपालिकाले पूर्ण रुपमा रोक लगाउन सक्ने’ उल्लेख छ । तर, उपमहानगरपालिकाले सो व्यवस्था विपरित पुनःचक्रण गर्न सकिने प्लाष्टिक झोला प्रतिबन्ध गर्दै पुनःचक्रण हुन नसक्ने प्लाष्टिक झोला फाइबरको भन्दै प्रयोगमा ल्याउनमा जोड दिइरहेको छ ।
अहिले धनगढी बजारमा प्रयोगमा ल्याइएको प्लाष्टिक झोला ठुला व्यवसायी सूर्य गुरुङगको हो । उद्योगी मिनबहादुर गुरुङले धनगढीमा भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याएपछि धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्ने वडा विशेषज्ञ क्लिनिकमा सहयोग गर्ने प्रतिवद्धतासहित सो सेवा शुभारम्भ भएको थियो ।
सो प्लाष्टिकमा भारी बस्तु हाल्दा घरसम्म नपुग्ने, खाद्यान्न बस्तु राख्न योग्य नहुने लगायतको रहेको छ । तरल पदार्थ पनि सो प्लाष्टिक झोलामा राख्न योग्य नहुँदा समेत धनगढीले सो ब्यागलाई प्रतिबन्ध गर्न नसक्नुमा नगर प्रमुख हमालको पनि स्वार्थ देखिएको स्थानीयबासीहरु बताउँछन् ।
अध्ययन भन्छ– स्थानीय तहले प्लाष्टिकको स्तरियतामा ध्यान दिनुपर्छ
सेन्टर फर ग्रीन इकोनोमी डेभलपमेन्ट नेपाल (सीजीईडी नेपाल) २०२० अनुसार सुदूरपश्चिम प्रदेशमा प्लाष्टिक उत्पादन कम्पनी १५ वटा रहेको छ । जसले चार हजार छ सय ४४ मेट्रिक टन कच्चा पदार्थ प्रयोग गरि वार्षिक चार हजार ७९ मेट्रिक टन प्लाष्टिक उत्पादन हुने गरेको छ । जसमा उच्च घनत्व पॉली एथिलीन, कम घनत्व पॉलीथीन, पॉलीविनाइल क्लोराइड र पोलिप्रोपिलिन प्रकारका प्लाष्टिक यहाँ उत्पादन हुने गरेको छ ।
सो अध्ययन अनुसार प्रदेशमा उच्च घनत्व पॉली एथिलीन एक हजार पाँच सय ३०, कम घनत्व पॉलीथीन एक हजार दुई सय ३५, पॉलीविनाइल क्लोराइड नौ सय २५ र पोलिप्रोपिलिन तीन सय ८९ मेट्रिक टन उत्पादन हुने गरेको छ ।
सो प्रतिवेदनले स्थानीय तहहरुले नीति र नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, निर्देशिका, मापदण्ड र योजनाहरूसहित नीति अनुरूप प्लास्टिक व्यवस्थापन लागू गर्नुपर्ने, विभिन्न निकायहरुसंग समन्वय र सहकार्य गरि कार्यक्रम र परियोजनाहरू लागु गर्नुपर्ने र तथ्यांक अभिलेखिकरण स्थापना र अद्यावधिक गर्दै प्लाष्टिक उत्पादन, बिक्री र वितरणमा स्तरियता कायम गराउनमा जोड दिनुपर्ने सुझाव दिएको छ ।
साथै वार्षिक रूपमा प्लास्टिकको रिपोर्ट तयार गरि सम्बन्धित प्रदेशमा पेश गर्नु पनि अध्ययनले सुझाव दिएको छ ।
धेरै अध्ययनहरूले प्रमाणित गरेका छन् कि प्लास्टिक खाद्य प्याकेजिङ उपभोक्ताको स्वास्थ्य र वातावरणको लागि विषाक्त छ । खाद्य प्याकेजिङको उद्देश्य यसको संरक्षण, रोकथाम, सुविधा र उपभोक्ताहरूसँग संचारमा केन्द्रित छ । त्यसैले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि प्याकेजिङको प्रकृति पनि शरीरका लागि विषाक्त रहित हुनुपर्छ । ४ मानव र पर्यावरणीय स्वास्थ्य (मार्टी, २०१८) दुवैको लागि राम्रो खाना प्याकेजिंग सामग्रीको विशेषताहरू चित्रण गर्दछ ।
वातावरणमा माइक्रोप्लास्टिक (एमपी) संचय र खाद्य उत्पादनहरूमा यसको प्रदूषण वातावरणीय र मानव स्वास्थ्य दुवैको लागि विश्वव्यापी खतरा बनेको छ । तर आजकल, प्लास्टिक खाद्य कन्टेनर, प्लास्टिक प्याकेजिङ, प्लास्टिक बोतल, डिस्पोजेबल कप, शिशु फिडर, प्लास्टिक–लेपित धातु, र कागजको कार्टुनको अत्यधिक प्रयोगले खाद्य वस्तुहरूमा प्लास्टिकफ्ल्याकिंगको प्रत्यक्ष सम्पर्क र रिहाईको साथ समस्यालाई उक्साएको छ । मानिसहरू प्लास्टिकको कन्टेनरमा खाना भण्डारण, ओसारपसार, तयारी र उपभोग गर्छन्, तर उनीहरूलाई कन्टेनरबाट आफ्नो खाद्य पदार्थ र पेयपदार्थमा प्लास्टिक छिर्ने बारे थाहा छैन र फलस्वरूप, उनीहरूले प्रत्यक्ष रूपमा सांसदहरू उपभोग गरिरहेका छन् । प्लास्टिकका कणहरूको सेवनले मानव प्रणालीलाई हानि पु¥याउँछ र सामान्य चयापचय प्रक्रियालाई बिगार्छ । यसैले, यस अध्ययनले यी खतरनाक सूक्ष्म–आकारको पार्टिको सम्भावित प्रभावहरूलाई पनि प्रकाश पार्छ ।
हरेक वर्ष, संसारभरका मानिसहरूले ५०० अर्बभन्दा बढी प्लास्टिकका झोलाहरू प्रयोग गर्छन्, जसमध्ये अधिकांश किराना किनमेलका लागि प्रयोग गरिन्छ । जबकि यी प्लास्टिक ब्यागहरू खरीदारहरूको लागि सुविधाजनक छन्, तिनीहरूसँग केवल १५–मिनेट को जीवनकाल छ, जसको अर्थ हो कि तिनीहरू सामान्यतया केवल १५ मिनेट को प्रयोग पछि फ्याँकिएका छन् । फलस्वरूप, प्लास्टिक झोलाहरू विश्वव्यापी रूपमा प्लास्टिक फोहोरमा सबैभन्दा महत्त्वपूर्ण योगदानकर्ताहरू मध्ये एक हुन् ।
केही वैज्ञानिकहरूको प्रारम्भिक अनुमान अनुसार औसत व्यक्तिले खाने र पिउने प्लास्टिक प्रति हप्ता ५ ग्रामसम्म हुन्छ । सन् २०१९ मा प्रकाशित एक अनुसन्धान समीक्षाले औसत अमेरिकीले हरेक वर्ष ७४.० भन्दा बढी माइक्रोप्लास्टिक कणहरू खाने, पिउने र सास फेर्ने गरेको देखाएको थियो ।
त्यो मेघा श्री...
धनगढीमा २०७९ असोज १ गतेदेखि प्लाष्टिकजन्य बस्तु प्रतिबन्ध गरियो । नगर प्रमुख गोपाल हमालले मानविय र वातावरणीय क्षेत्रमा असर पारेको भन्दै प्लाष्टिकमा प्रतिबन्ध लगाएपछि कैलालीको लम्कीबाट उत्पादन हुने सुर्तिजन्य पदार्थ उत्पादक कम्पनी मेघा श्रीले पनि कागजमा उत्पादन शुरु ग¥यो ।
झण्डै नौ महिनासम्म लगातार कागजमा उत्पादन गरिरहेको सो कम्पनिले पुनः प्लाष्टिकमै आफना उत्पादन शुरु गरेको छ । अहिले धनगढीमा मेघा श्री पुनः प्लाष्टिकमै पाइने गरेको छ ।
‘सार्वजनिक स्वास्थ्य, जनस्वास्थ्य तथा वातावरणीय संरक्षणलाई ध्यानमा राखी प्लाष्टिकजन्य बस्तुको उत्पादन, आयात, निर्यात, विक्री वितरण, भण्डारण तथा प्रयोगमा रोक लगाइने’ प्लाष्टिकजन्य बस्तु प्रतिबन्ध ऐनले व्यवस्था गरेको छ । तर, अहिलेपनि धनगढीमा प्लाष्टिक प्रयोग भएको मदिरा, सुर्तिजन्य पदार्थ अहिले प्लाष्टिकमै धमाधम बजारमा फेला परिरहेका छन् ।
ऐनको परिच्छेद ३ को (२)मा भनिएको छ –‘खाद्यपदार्थ तथा जुत्ता कपडा लगायतका बस्तुहरु साथै कम्पनीबाट प्याकिङ्ग भई आएका प्लाष्टिक आदि जथाभावी फ्याक्न, थुपार्न, जलाउन बस्तीमा फ्याक्न पाइने छैन ।’
धनगढीले अहिलेसम्म प्लाष्टिकजन्य बस्तुहरुको अभिलेख राख्न नसक्नु, बस्तुहरुको उत्पादक भण्डारण विक्री वा प्रयोगकर्तालाई जरिवाना नगर्नु लगायतका कारण ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।
सो ऐनले प्लाष्टिक झोला विक्रेतालाई प्रथम पटक एक हजार जरिवाना, दोश्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजारका दरले जरिवाना गर्ने र प्रयोग गर्नेलाई क्रमशः १०, ५० र एक सय जरिवाना गर्ने व्यवस्था गरेको छ भने उत्पादककर्तालाई क्रमशः दुई हजार, चार हजार र छ हजार जरिवाना गर्ने जनाएको छ ।