शान्ती प्रसाद जोशी धनगढी- ‘ब्याग्स अफ होप’ले ‘डिकोडिङ्ग धनगढीज सरोःज’ नामक पुस्तक सार्वजनिक गरेको छ।
धनगढीको वडा नम्बर १ देखि वडा नम्बर १९ सम्म रहेका समस्याहरूलाई समेटेर धनगढीका दुई युवक दिपेश बोहरा र नितेश जोशीले तयार पारेको पुस्तक ‘डिकोडिङ्ग धनगढीज सरोःज’ आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। पुस्तकको सार्वजनिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेका थिए भने नेकपा एमाले पोलिट ब्युरो सदस्य नारदमुनि राना र सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री वीरबहादुर थापा विशिष्ट अतिथि रहेका थिए ।
त्यस्तै कार्यक्रममा पूर्व वन उद्योग वातावरण मन्त्री तथा प्रदेश सभा सांसद रमेश सिंह धामी पूर्व भौतिक पूर्वाधारमन्त्री तथा प्रदेश सभा सांसद प्रकाश देउवा धनगढी उपमहानगरपालिकाका पूर्व मेयर नृप वड धनगढी उपमहानगरपालिकाकी वर्तमान उपप्रमुख कन्दकला राना विशिष्ट अतिथि रहेका थिए।
आफूहरूले धनगढीका सबै वडाहरूमा पुगेर त्यहाँका समस्या र अप्ठ्याराहरूलाई किताबमा प्रस्तुत गरेको र यसको समाधान नगरिएमा भोलिको पुस्ताले आजको नेतृत्वप्रति घृणित रहने नितेश जोशीले बताए ।
धनगढी भनेको बत्ती बलेको क्षेत्र मात्रै नभएको र आजको समयमा सामाजिक सञ्जालका कारण विकासक्रम र प्रचार बढी भएको कारण विकट क्षेत्रहरूमा सरकारको ध्यान जान नसकेको र धनगढी उपमहानगरपालिकाले आफ्नो कार्यकालमा सुरु भएका विकासहरूलाई निरन्तरता नदिएको र उपलब्ध रहेकै सरसमानसमेत उपयोगमा नल्याइएको धनगढी उपमहानगरपालिकाका पूर्व मेयर नृप वडले बताए ।
विकास भनेको बिस्तारै हुँदै जाने प्रक्रिया भएको र सुदूरपश्चिमका सम्पूर्ण स्थानीय तहभन्दा धनगढी उपमहानगरपालिका विकासको गतिमा अगाडि रहेको र ब्याग्स अफ होप आफैमा नयाँ र अर्थपूर्ण रहेकोले अहिलेका युवाहरूले गरेको यो कार्य सम्मानजनक रहेको र यसमा आफ्नो पूर्ण साथ सहयोग र समर्थन रहने कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताए । युवाहरूले खोजेका समस्याहरूमा स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको ध्यान जानुपर्ने समेत मुख्यमन्त्री शाहले बताए ।
आज पुस्तकको विमोचन कार्यक्रमको संयोजन ब्याग्स अफ होपका सदस्य दिपेश बोहराले गरेकाका थिए।