शेरबहादुर ऐर
धनगढी– सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढीस्थित मुख्य बजारमा जग्गा छ नेपाल बाल संगठनद्धारा सञ्चालित बाल मन्दिरको । तर, सो बाल मन्दिरको आम्दानी बृद्धि गराउन संगठनले व्यापारिक भवन बनाउन खोज्दा धनगढी उपमहानगरपालिकाले असहयोग गरिरहेको छ ।
धनगढीका नगर प्रमुख हमालको स्वार्थसंग बाँझिएकाले सो भवन बनाउने कार्य अघि बढाउन सकिएको छैन । नगर प्रमुख हमालले सो बालमन्दिरको जग्गामा सवारी राख्ने स्थान बनाउने योजना ल्याएपछि बाल मन्दिरले बनाउन खोजेको व्यापारिक भवनको नक्सा पास गरिएको छैन बाल मन्दिर धनगढीका अध्यक्ष चुणामणि भट्टले बताए ।
२०७९ सालमा नगर प्रमुखमा निर्वाचित हमालले सडक विस्तार गर्न धनगढीको मुख्य सडकका संरचना भत्काउने कार्य अघि बढाए । २०७९ साल कार्तिकको पहिलो सातादेखि सडक विस्तार गर्ने क्रममा बाल मन्दिरको पाँच कोठे व्यापारिक भवन भत्काइएको थियो । नगर प्रमुख हमालले सो समयमा स्वस्फुर्त रुपमा घर भत्काउने व्यक्ति तथा संस्थाको निशूल्क नक्सा पास गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, बालमन्दिरको जग्गा उपमहानगरपालिकाले अतिक्रमण गर्ने सोच सहित नक्सा पास गर्न शूल्क माग्यो । चार तले व्यापारिक भवनको नक्सा पास गराउन बालमन्दिरसंग रकम अपुग छ । जसका कारण हालसम्म पनि नक्सा पास हुन सकेको छैन ।
‘हामीले टिनको टहरा बनाएर पुराना व्यवसायीहरुलाई त्यही व्यापार गर्ने व्यवस्था गराउने कोसिस गरेका थियौं’ उनले भने –‘तर, धनगढीले नक्सा पास नभएको भन्दै हाल्न लागिएको जगमै डोजर चलायो । घर भत्काउने क्रममा नक्सा पास निशूल्क गराउने प्रतिवद्धता गरेको थियो । तर, अहिले पैसा मागिरहेको छ । हामीसंग त्यति ठुलो रकम दिन सक्ने अवस्था छैन् । घर नक्सा पास गराउननै धनगढीमा ८० हजार तिर्नुपर्ने हुन्छ । जुन रकमले यहाँका बालकलाई खाद्यान्नको जोहो गर्न सकिन्छ । धनगढीलाई घर नक्सा पास निशूल्क गराइदिन अनुरोध गर्दा समेत मानेन ।’ उनले धनगढीले सवारी राख्ने क्षेत्रको उपमहानगरपालिकालाई उपलब्ध गराएमात्र नक्सा पास गरिदिने नगर प्रमुख हमालले सर्त राखेको बताए । उनले भने –‘बालमन्दिरको जग्गा कुनै पनि व्यक्ति वा संस्थालाई अतिक्रमण गर्न दिँदैनौं । त्यसैत प्रदेशका नौ वटै जिल्लामा बालमन्दिरको नाममा रहेको जग्गा अतिक्रमणको चपेटामा रहेको छ । अब धनगढीले पनि यसमा अतिक्रमण गर्न खोज्यो । मेरो कार्यकालमा म यो कार्य कुनै पनि हालतमा हुन दिँदैन ।’
बालमन्दिरको प्रमुख आयस्रोतनै गुमेपछि अहिले विभिन्न व्यक्ति, समुह, संघ–संस्थाको सहयोगले केही राहत मिलिरहेको उनको भनाई छ । ‘बालमन्दिरको आम्दानीका रुपमा यहाँ ११ वटा सटरबाट घर भाडा उठिरहेको थियो’ अध्यक्ष भट्टले भने –‘सडक विस्तारका क्रममा पाँच वटा सटर भाडामा लगाएकोमा घरनै डोजर लगाएर भत्काइयो । अहिले सात वटा सडक भाडामा छन् । त्यहाँबाट मासिक १ लाख २२ हजार रकम उठ्छ ।’
उनले त्यहाँ राखिएका बालक बढी विरामी हुने हुँदा औषधिउपचारमै आर्थिक समस्या हुने गरेको बताए । अहिले बालमन्दिरमा रहेका बालबालिकालाई बालमन्दिरको प्राङ्गणको छेउमा रहेको त्रिनगर माध्यामिक विद्यालयमा भर्ना गरिएको छ । ‘जन्मदा पोषणयुक्त खानेकुराको अभाव भएर होला । समय–समयमा यहाँका बालकहरु विरामी हुने गरेका छन् । उनीहरुको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक डाक्टर प्रदिप मिश्रले सहयोग गरिरहेका छन् । उनले चेकजाँच गरेको पैसा लग्नु हुँदैन । तर, औषधि खरिदमा धेरै रकम आवश्यक पर्ने गरेको छ । जो यहाँको सिमित आम्दानीले पुग्दैन् ।’
धनगढीमा सञ्चालनमा रहेको बालमन्दिरमा २१ जना अनाथ, असहाय बालकहश्र रहेका छन । बालमन्दिरमा अहिले भान्से, चौकीदार, व्यवस्थापक र शिक्षक गरि चार जना कर्मचारी रहेका छन् । सिमित आम्दानीबाट कर्मचारीको सेवासुविधा र बालकहरुको आधारभुत आवश्यकता पुरा गराउन बालमन्दिरले प्रयास गरिरहेको बताउँदै –‘मैले यो बालमन्दिरलाई सशक्त बनाउने प्रयास गरिरहेको छ । यो जुन उद्देश्यले स्थापित भएको त्यो अनुसार चलाउने जग बसाउने छु । यसमा सबै धनगढीबासीहरुको पनि साथ र सहयोग आवश्यक रहेको छ ।